१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बंगुरपालनबाट घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ

प्रकाशित मिति :  २४ कार्तिक २०७८, बुधबार ०५:१४


पर्वत। इराकमा अमेरिकी सेना र आतंकवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बंगुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बंगुरपालनवाट वार्षिक १८ लाखसम्म आम्दानी गर्न थाल्नुभएको हो । ‘आतंकवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बंकरमा लुक्न पठाउँथ्यो । त्यही आक्रमणमा परेर कति साथी त मारिए’, उहाँले भन्नुभयो, ‘मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।’

तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उहाँको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उहाँले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको छ । गौरव जिल्लाकै सफल बङ्गुरपालक व्यवसायीका रूपमा चिनिन्छन् ।

सात वर्षदेखि यो व्यवसायमा लागेका उहाँले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिनुभयो । इराकमा मासिक ७० हजार कमाउने उहाँले बंगुरपालनबाटै मासिक डेढ लाख बचत गर्दै आउनुभएको छ । अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किनुभएका उहाँले बंगुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गर्नुभएको हो । कतिबेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ’, उहाँ भन्नुभयो, ‘मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बंगुर पालिरहेको छु । बजारको माग धान्नै सकेको छैन ।’

समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर – बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ । यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु उहाँका लागि सहज कहाँ थियो र ? तर आफैंले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठान्नुभएका उहाँले सामाजिक चुनौतीकै बीच बंगुर पाल्न लाग्नुभएको हो ।

सात वर्षका अवधिमा उहाँले फार्ममा झण्डै एक करोड लगानी गर्नुभएको छ । यद्यपि अझै पनि उहाँलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उहाँको यो पेशाबाट सन्तुष्ट छैनन् । ‘मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर उहाँले अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि !’ उहाँको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष ०७७-७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट तीन लाख ५० हजार अनुदानसमेत आएको थियो ।

उहाँले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बंगुरलाई ८५ हजारमा बिक्री गर्नुभएको छ । बजारमा उत्पादन हुने फोहर उठाएर बङ्गुरलाई आहार दिने गर्नुभएका उहाँले आजभोलि फोहरलाई कम गरेर दाना खुवाउन थाल्नुभएको छ । यही कारण चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य पाँच हजार पाँच सय पुगेको छ ।

उहाँले बजारको मागअनुसार धेरै उत्पादन गर्न नसकेको बताउनुभयो । उहाँले मासुका लागि भन्दा पनि पाठापाठी जन्माउन माउ बंगुर राख्नुभएको छ । एउटा माउ चार-पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताउनुभयो । उहाँको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बंगुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि सबै नेपालीले रोजेको र खोजको जस्तो काम विदेशमा नपाउने भएकाले जस्तो काम पाइन्छ उस्तै काम गर्नुपरेको गौरवको अनुभव छ ।

विदेशमा रहेका नेपालीले बंगुर फार्ममा पनि काम गरिरहेको बताउँदै व्यवसायी क्षेत्रीले विदेशमा जस्तो फोहरमा पनि काम गरेर आम्दानी गर्न तयार हुने नेपालीले त्यही काम आफ्नो देशमा गर्न लजाउने गरेको बताउनुभयो ।

– रासस



प्रतिक्रिया दिनुहोस !