२४ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विकराल बन्दै डढेलो

प्रकाशित मिति :  १४ बैशाख २०८१, शुक्रबार १५:२४


गण्डकी । वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ ।

सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उहाँको भनाइ छ ।

बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ, वन अधिकृत श्रेष्ठले भन्नुभयो, संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन् । बिहीबार सातवटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले जनाएको छ । वैशाख लागेपछि डढेलोका घटना बढेको वन अधिकृत श्रेष्ठले बताउनुभयो ।

डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आकलन बाहिर छ । आगलागी र डढेलोका घटनामा परी ज्यानै जानेसम्मका घटना भएका छन् । विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटना बढ्ने देखिएको बताउनुभयो । मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष देशभर तीन हजार छ सय आसपास ठाउँमा डढेलो लागेको थियो ।

बर्सेनि औसतमा चार हजार स्थानमा डढेलो लाग्ने गरेको पाइएको उपमहानिर्देशक ज्ञवालीले बताउनुभयो । दुई वर्षअघि झण्डै छ हजार स्थानमा डढेलोको प्रकोप देखिएको थियो, अहिले पनि डढेलो फैलँदो क्रममा छ, उहाँले भन्नुभयो, वर्षा नभए जेठसम्मै डढेलोको जोखिम रहन्छ ।

वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताउनुभयो । डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको उहाँको भनाइ छ । डढेलोको समस्या बिकराल बन्दैछ, उपसचिव थापाले भन्नुभयो, लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रण बाहिर गइरहेको छ । गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उहाँको भनाइ छ ।

वनज‌गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको उहाँले बताउनुभयो । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । करिब ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ, उपसचिव थापाले भन्नुभयो, पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उहाँको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताउनुभयो । डढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ, उहाँले भन्नुभयो, डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।

डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तिने गरेको उहाँको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटना पनि बढाउने उपसचिव थापाले बताउनुभयो । बर्सेनि बढिरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि जनशक्ति र स्रोतसाधनको उचित प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताउनुभयो ।

परम्परागत तरिकारले मात्र अब डढेलो नियन्त्रणमा लिन कठिन छ, तालिमप्राप्त जनशक्ति र पर्याप्त उपकरण चाहिन्छ, उहाँले भन्नुभयो, प्राकृतिक भू–वनोटका कारण पनि नेपालमा डढेलो चुनौतीको विषय बनिरहेको छ ।

डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गरिए पनि यसमा कमी आउन नसकेको उहाँको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उहाँले बताउनुभयो । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपति‌गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताउनुभयो । वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ, उहाँले भन्नुभयो, डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।

गण्डकी प्रदेश वन निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले डढेलोका घटना नियन्त्रण र न्यूनीकरण सबै पक्षको साझा विषय भएको बताउनुभयो । बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ, डढेलोले वनजन्तु र पंक्षी मर्ने, उनीहरुको बासस्थान नष्ट हुन्छ, उहाँले भन्नुभयो, डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको हुन्छ ।

नेपालमा मुख्य गरी फागुन–वैशाखमा डढेलोका घटना बढी हुने गरेको उहाँको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भूबनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको वन अधिकृत थापाले बताउनुभयो ।

वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन, डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार र जनस्तरबाट समेत प्रभावकारी उपाय अबलम्वन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “समुदायमा डढेलो सम्बन्धी सचेतना जगाउनुपर्छ ।

डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सब–डिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । वन कार्यालयहरुले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ । लम्बिँदो सुक्खा यामका कारण यो हिउँदमा डढेलोका घटना अझै बढ्न सक्ने जोखिम रहेको वन अधिकृत थापाले बताउनुभयो ।

डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको उहाँको भनाइ छ । वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई बिगो अनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था रहेको उहाँको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वनको वैज्ञानिक व्यवस्थापन र स्रोत परिचालन नहुँदा पनि डढेलोका घटनाले प्रश्रय पाइरहेको बताउनुभयो । घाँसदाउरा, स्याउला, सोत्तर लिन मानिसहरु वन जानै छाडे, झाडी सफाइ पनि हुँदैन, जसका कारण डढेलो अनियन्त्रित भई फैलिइरहेको छ, उहाँले भन्नुभयो, वन व्यवस्थापन र उपभोगमा राज्यको पनि यथेष्ट ध्यान पुग्न सकेको छैन, वन पैदावर यसै खेर गइरहेको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !