१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्री कमलबहादुर तनाबमा, अनेक कसरत गर्दा पनि नजोगिने भयो मुख्यमन्त्री पद

प्रकाशित मिति :  २६ फाल्गुन २०८०, शनिबार ०५:२०


काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले तीन जना मन्त्री थप्नु भएको छ ।

पुरानो सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नु भएका शाहले शुक्रबार राति नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदलाई मन्त्री बनाउनुभएको हो । नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीलाई आर्थिक मामिला तथा खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्री र बनाउनु भएको छ ।

केन्द्रमा गठबन्धन फेरिएपछि उहाँले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीलाई हटाएर नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मन्त्री बनाउनुभएको हो ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्दछ । वर्तमान मुख्यमन्त्री कमलबहादुर शाहसँग नेपाली कांग्रेसका १८, र नागरिक उन्मुक्ति पार्टीका सात जोड्दा २५ जनाको मात्रै समर्थन पुग्दछ । उहाँलाई अझै दुई जना सांसदको समर्थन पुग्दैन । त्यसको लागि राप्रपाका एक र स्वतन्त्र एक सांसदलाई मन्त्री पद दिएर आफ्नो पक्षमा ल्याउन शाहले प्रयत्न गरिरहनु भएको छ । तर त्यो सम्भव हुन सकेको छैन ।

सुदूरपश्चिममा नयाँ बनेको सत्ता गठबन्धनलाई पनि नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा राप्रपा र स्वतन्त्र सांसदको समर्थन बिना बहुमत पुग्दैन । नयाँ सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रसँग ११, एमालेसँग १० र एकीकृत समाजवादी पार्टीसँग चार जना सांसद छन् । नयाँ गठबन्धनलाई पनि राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद् ताराप्रसाद जोशीले समर्थन गरेको अवस्थामा बहुमत पुग्छ ।

त्यसो त कमलबहादुर शाहको सरकारमा मन्त्री पठाएको विषलाई लिएर नागरिक उन्मुक्ति पार्टी भित्र विवाद चुलिएको छ । पार्टीको महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र उहाँकी पत्नी रञ्जीता श्रेष्ठ चौधरी बिचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्ने विवादमा उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले रेशम चौधरीलाई पार्टी अध्यक्षमा मान्यता नदिएर रञ्जितालाई नै पार्टी अध्यक्षको मान्यता दिएपछि शक्ति सन्तुलनको हिसाबले रेशमभन्दा रञ्जिता अगाडी हुनुहुन्छ । पार्टीको निर्णायक अधिकार उहाँको हातमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनि निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती आफ्ना समर्थक तीन जनालाई शाहकै सरकारमा मन्त्री र राज्यमन्त्रीको शपथ खुवाएपछि पार्टी भित्र विवाद चुलिएको छ । रञ्जिताका नजिक मानिएका कैलाश चौधरीलाई मुख्यमन्त्रीले राज्यमन्त्रीबाट पनि हटाएपछि उहाँ थप असन्तुष्ट बन्नु भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका पूर्व नेता समेत रहनुभएका पार्टीमा सिनियर नेता लक्ष्मणकिशोर चौधरीलाई बाहिरै राखिएको छ । त्यस्तै कैलाश चौधरी र टीका थापालाई पनि बाइपास गरिएको छ । लक्ष्मणकिशोर र कैलाश रञ्जिताका नजिकका सांसद् मानिन्छन् । रञ्जीता नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा हुनुहुन्छ । रञ्जिताले सरकामा जाने विषयमा पार्टीमा कुनै सल्लाह नभएको प्रतिक्रिया जनाइसक्नु भएको छ । यसले मुख्यमन्त्री शाह माथि सङ्कटको पहाड खडा भएको छ ।



प्रतिक्रिया दिनुहोस !