१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओली र प्रचण्डको द्धन्दले पीडित बन्यो झापा

प्रकाशित मिति :  २३ आश्विन २०८०, मंगलवार ०८:१०


प्रचण्ड इन्डो अमेरिकी खेमामा लाग्दा झापालाई पर्यो आपत

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाथ ठेगान लगाइदिएको विषय हो, चीन नेपाल मैत्री औद्योगिक पार्क ।

ओलीको गृहक्षेत्र झापाको पाँच नम्बरमा यो पार्क बन्दैछ । २२ सय बिगाहामा प्रस्तावित भए पनि पहिलो चरणमा करिब हजार बिगाहामा यो पार्क बन्न लागेको हो । पार्क निर्माणका लागि चीन सरकारले करिब ६७ अर्ब रुपैयाँ पनि पठायो । त्यसपछि दंग परेका केपी ओलीले पार्क शिलान्यास गरे । त्यसबेला ओली प्रधानमन्त्री थिए पार्क शिलान्यास गरे लगत्तै ओलीको पद गयो ।

प्रतिनिधि सभा विघटनको अपराधमा केपी ओलीको प्रधानमन्त्री पद गुम्यो । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवाले ओलीको पालाको धेरै विकास आयोजना रद्द गरिदिए । दमक, कमल र गौरादहको विशाल क्षेत्रमा बन्न लागेको पार्क पनि देउवाले अगाडि बढ्न दिएनन् । देउवाका विदेश मामिला सल्लाहकार अरुण सुवेदीले खुलेआम घोषणा गरे, दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क बन्दा भारतको सुरक्षा खतरामा पर्छ ।

देउवाले पार्क निर्माण अगाडि बढ्न दिएनन् । सरकारले पीडिए (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट) हस्ताक्षर गर्नासाथ सो पार्क निर्माण सुरु हुन सक्छ । तर देउवाले पीडिएमा हस्ताक्षर गर्ने अनुमति दिएनन् ।

देउवा पछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले ओलीको डिम प्रोजेक्ट बन्न दिने कुरै थिएन । कांग्रेससँग गठवन्धन गरेपछि भारत अमेरिकी (इण्डो अमेरिकी) खेमामा लागेका प्रचण्डले चिनियाँ लगानीको त्यति ठूलो आयोजना बन्न किन दिन्थे ? पीडिएमा हस्ताक्षर गर्न अनुमति दिएनन् ।

पीडिएमा हस्ताक्षर लगानी बोर्डले गर्नुपर्छ । लगानी बोर्डका कार्यकारी निर्देशक सुशिल भट्टले हस्ताक्षर गर्नासाथ औद्योगिक पार्क निर्माण सुरु हुनसक्छ । निर्माणका लागि चिनियाँ पैसा तयारी अवस्थामा रहेको छ । यस्तो अवस्थामा पनि औद्योगिक पार्क सुरु भएको छैन ।

अहिले नेपालमा चिनियाँ लगानी स्वीकृत गर्ने नीति नभएकाले औद्योगिक पार्कको पीडिएमा हस्ताक्षर गर्न भट्टले नमानेको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड इन्डो अमेरिकी खेमामा लागेपछि एमसीसी जस्तो सैन्य रणनीतिसँग जोडिएको परियोजना अगाडि बढेको छ तर उद्योग कलकारखाना बन्ने परियोजना भने रोकिएको छ ।

औद्योगिक पार्क नबनाउन भारत र अमेरिका दुवैले दवाब दिइरहेको सार्वजनिक भइसकेको छ । औद्योगिक पार्कबाट करिब ८० किलोमिटर पूर्वमा पर्ने नेपाल भारत सीमाभन्दा उताको भारतीय भाग भारतका लागि चिकेन नेक हो । भारतको साँघुरो क्षेत्रबाट पूर्वाेत्तरका आठ राज्य जोडिन्छ । सिलिगुडीबाट औद्योगिक क्षेत्र करिब १०० किलोमिटर दुरीमा छ ।

झापा जिल्लामा चिनियाँ लगानीको औद्योगिक क्षेत्र बन्दा भारतको सुरक्षामा ठूलो खतरामा पर्ने प्रचण्ड र देउवा निकट बुद्धिजीवीहरुले बताइरहेका छन् । नेपालमा विकास हुँदा भारतलाई खतरा हुन्छ भन्ने आधारमा झापामा औद्योगिक पार्क बन्न नसक्ने अवस्था आएको छ ।



प्रतिक्रिया दिनुहोस !