१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काबुल बम विस्फाेट, ज्यान गुमाउने ६० पुगे

प्रकाशित मिति :  ११ भाद्र २०७८, शुक्रबार ०६:२६


एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।

बिहीबार साँझ भएका दुई ठूला विस्फाेटमा परी अमेरिकी सैनिकसहित ६० जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साे विस्फाेटमा परी कैयाैं मानिस घाइते भएका बताइएकाे छ ।

काबुल विमानस्थलमा हजारौं मानिस उद्धारकाे आशामा बसिरहेका बेला बम विस्फोट भएको हो । विस्फाेटकाे पुष्टि बेलायती रक्षा मन्त्रालयले पनि गरेकाे छ । विस्फाेटपछि विमानस्थलमा लगातार गाेली चलेकाे बताइएकाे छ । विस्फाेटपछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ ।

अफगानिस्तान अहिले तालिबानकाे कब्जामा छ । तालिबानले ३१ अगस्टसम्म देश छाडिसक्न अमेरिकी नागरिकलाई चेतावनी दिएकाे छ । अमेरिकाले आफ्ना नागरिककाे उद्धार गरिरहेकाे छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटपछि पनि उद्धार कार्य जारी नै रहने बताउनु भएको छ । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरुलाई कारबाही गरिने प्रतिबद्धता पनि जनाउनु भएकाे छ ।

अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएपछि त्यहाँबाट अमेरिकीसहित विभिन्न देशका नागरिककाे उद्धार कार्य जारी छ ।



प्रतिक्रिया दिनुहोस !