१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुख कहाँ छ ? गाउँमा, समृद्धि कहाँ छ ? माटोमा

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ११:३१


रामेछाप । वर्तमान सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सरकारको परिकल्पना नै बनाउनुभएको छ ।
सरकारले परिकल्पना गरेको सुख कहाँ छ ? अनि समृद्धि कहाँ छ ? रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका रत्नपति श्रेष्ठको जवाफ सहज छ । श्रेष्ठ भन्नुहुन्छ,‘सुख गाउँमा छ, अनि समृद्धि माटोमा ।’

रत्नपतिले यो कुरालाई बोलीमा मात्र होइन व्यवहारमा नै उतार्नुभएको छ । उहाँ आफ्नै गाउँमा सुखी हुनुहुन्छ, गाउँको माटोबाट समृद्धि कायम गर्नुभएको छ ।

घर छेउमा मसलाको रुपमा प्रयोग गर्न लागएको दुई/चार झाँङ अलैँचीलाई विस्तार गरेर उहाँले सुख र समृद्धि एकैसाथ भित्र्याउनुभएको छ । १० वर्षअघिदेखि अलैँचीको व्यवसायीक खेती सुरु गर्नुभएका श्रेष्ठले अलैँचीबाट राम्रो कमाइ गर्नुभएको छ । जसले उहाँलाई सुख दिएको छ, उहाँको परिवारमा समृद्धि पनि ल्याएको छ ।

श्रेष्ठ भन्नुहुन्छ, ‘विदेश गएको भए कमाइ त हुन्थ्यो होला, तर परिवारसँग बसे जस्तो खुसी हुँदैन थ्यो, आफ्नै माटोबाट यतिराम्रो कमाइ भएपछि अनि गाउँमै सुख र माटोमा समृद्धि मिलेन त ?’, श्रेष्ठले भन्नुभयो ।

रत्नपति मात्र होइन, अहिले फुलासीका अन्य किसान पनि अलैँची खेतीमा लाग्नुभएको छ । जसबाट उहाँहरुले राम्रो कमाइ गर्न लाग्नुभएको छ । यसले उहाँहरुको जीवन र परिवारमा सुख र समृद्धि ल्याएको छ ।

फुलासीमा २ सय रोपनी भन्दा बढी जमिनमा किसनाहरुले अहिले अलैँची लगाएका छन् । रत्नपतिले ११ रोपनी जमिनमा अलैँची लगाउनुभएको छ । उहाँको भाइ भूवनले पनि अलैँची खेती लगाउनुभएको छ ।

दुई मुरी धान हुने खेतमा वार्षीक १ लाख रुपैँया बराबरको अलैँची उत्पादन हुने श्रेष्ठले बताउनुभयो । १० रोपनी जमिनमा लगाएको अलैँचीले वार्षीक ६ लाख भन्दा बढीको उत्पादन दिने उहाँको भनाइ छ ।

सेपजिलो र उत्तिस घारी भित्रको जग्गा अलैँची खेतीको लागि उपयुक्त मानिन्छ । रत्नपति दाजुभाइले अलैचिबाट राम्रो आम्दानी गर्न लागेपछि गाउँका अन्य मानिसले पनि त्यस्तो जमिनमा अलैँची लागाएका छन् । अहिले गाउँका ४५ घर भन्दा बढी किसानले अलैँचीका बिरुवा लगाएका छन् ।

केही किसानले लगाएको अलैँचीले उत्पादन दिन लागि सकेको छ भने कसैको जमिनमा अलैँचीका बिरुवा हुर्कदै छन् । अहिले खेती लगाएका सबै किसानको अलैँचीले उत्पादन दिन थाले पछि गाउँमा वार्षीक एक करोड भन्दाबढी भित्रने उहाँले बताउनुभयो ।

किसानले गाउँमा ठूलो भट्टी बनाएर अलैँची त्यहीँ सुकाउने गरेका छन् । यसरी सुकारए राखेको अलैँची वर्षौँसम्म पनि नबिग्रने भएकोले राम्रो मोल आउँदा मात्र बिक्री गर्न मिल्ने श्रेष्ठ बताउनुहुन्छ ।

किसानलाई अलैँची खेतीमा प्रोत्सहन गर्न कृषि सहकारी समेत गठन गरिएको छ । सो सहकारीले अलैँची खेती गर्ने किसानलाई ऋण सहयोग गर्ने गरेको छ । जसले गर्दा उनीहरुलाई खेतीमा थप प्रोत्साहित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !