१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग गर्दछ : सभामुख

प्रकाशित मिति :  २२ बैशाख २०८०, शुक्रबार ०५:३७


काठमाडौं । सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

२५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको र बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु ।” सभामुख घिमिरेले नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास गर्ने, जातीय विविधताले नेपाल बहुजातीय मुलुक भएको र विविध जातिहरूको आाफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्नुभएको छ । “विविधता भित्रको एकता हामी नेपालीको मौलिक पहिचान हो, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्”, उहाँले भन्नुभएको छ ।

जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक रहेका र बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने उहाँको भनाइ छ ।
-रासस



प्रतिक्रिया दिनुहोस !