२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

फ्रान्सिस स्कट ब्रिज दुर्घटनाको भग्नावशेष हटाउने प्रयास जारी

प्रकाशित मिति :  १९ चैत्र २०८०, सोमबार ०९:१५


काठमाडौं । संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन् ।

अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन् । उहाँहरु सबै भारतीय हुन् । उहाँहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन् ।

दुर्घटनाग्रस्त जहाज बाल्टिमोरको बन्दरगाहमा अड्किएको छ । अझैं त्यहाँको भग्नावशेष हटाउन कति समय लाग्ने त्यसको एकिन छैन ।

जहाज व्यवस्थापन गर्ने कम्पनी सिनर्जी मरिनका लागि काम गर्ने क्रिस जेम्सका अनुसार चालक दलका सदस्यहरूसँग पर्याप्त मात्रामा खाना र पानीको आपूर्ति भएकाले उनीहरुलाई कुनै समस्या छैन् । राष्ट्रिय यातायात सुरक्षा बोर्ड र कोस्ट गार्डले आफ्नो अनुसन्धान पूरा गरेपछि चालक दलका सदस्यहरुलाई घर पठाउन सकिने जानकारी दिएको छ ।

९८५ फिट लामो कार्गो जहाज श्रीलंका जाँदै गरेको थियो । उक्त जहाजमा चार हजार सात सय कन्टेनर छन् । गत मंगलबार बिहानै विद्युत आपूर्ति अवरुद्ध भएपछि जहाज पुलमा ठोक्किएको थियो । जसका कारण पुलको ठूलो भाग भत्किएको छ । त्यहाँ निर्माणमा काम गर्ने ६ जनाको उक्त दुर्घटनामा ज्यान गएको थियो ।

शनिबार देखि इन्जिनियरहरूको टोलीले क्षतिग्रस्त पुलबाट झुकेको फलामको पहिलो खण्ड काट्ने र यसको भग्नावशेष हटाउने जटिल प्रक्रिया सुरु गरेको छ । अमेरिकी अधिकारीहरूले पुलको भत्किएको संरचनाको उत्तरी भागमा काम भइरहेको बताएका छन् । फलाम काट्न भारी कटर मेसिन प्रयोग भइरहेको छ ।

पुलको भग्नावशेष हटाउन एक हजार टन तौल उठाउन सक्ने ठूलो क्रेन परिचालन गरिएको छ । मेरिल्याण्डका गभर्नर वेस मूरले भग्नावशेष हटाउन र बन्दरगाह पुनः खोल्न कति समय लाग्ने भन्ने अझै थाहा नभएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !