८ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  १९ बैशाख २०८१, बुधबार ०९:०८


काठमाडाैं । आज मे १ अर्थात १ सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नारासाथ याे दिवस मनाउन लागिएकाे हाे । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ ।

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडकमा ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा याे दिवस मनाउन थालिएकाे हाे । याे नाराले सार्थकता पाएसँगै १ सय ३५ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ ।

नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । दिवसकाे अवसरमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले नयाँ सामाजिक सम्झौताका लागि सुद‍ृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादीत रोजगारी सहितको अर्थतन्त्र भन्ने नारासाथ विभिन्न कार्यक्रम गर्दैछ ।

विसं २००३ मा विराटनगरको ऐतिहासिक मजदूर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ । विसं २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२-६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान छ ।

आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम-एजेण्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ । संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ ।

युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लिंगीय, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ । औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !