५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको गयाे ज्याेन

प्रकाशित मिति :  २३ बैशाख २०८१, आईतवार १५:१५


राँझा (बाँके) । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको निधनभएको छ ।

चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको निधनभएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिनुभयो । निधन हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन् ।

नेपालगञ्जलाई मेडिकल सिटी भनिए पनि यही नवजात शिशु र सुत्केरीको मृत्यु धेरै देखिन्छ, श्रेष्ठले भन्नुभयो, घर नजिककै ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर नवजात शिशु तथा सुत्केरीको निधन भइरहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा नेपालगञ्ज उपमहानगरपालिकामा ७१ नवजात शिशु र छ सुत्केरीको मृत्यु भएको छ । यो अवधिमा कोहलपुरमा ३४, राप्ती सोनारीमा तीन, नरैनापुरमा दुई तथा खजुरा र जानकी गाउँपालिकामा एक–एक नवजात शिशुको निधन भएको छ ।

यो अवधिमा खजुरामा दुई, डुडुवामा दुई तथा राप्ती सोनारी र नरैनापुरमा एक–एक सुत्केरीको मृत्यु भएको छ । विगतमा सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मातृ निधन भइरहेको स्वास्थ्य कार्यालय बाँकेका मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

बच्चा जन्मिएको ४२ दिनसम्म सुत्केरी हुने गरिन्छ । यो बीचमा चारपटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको ज्यान गुमाएको श्रेष्ठको अनुमान छ । बाँकेमा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको पाइएको छ ।

बढ्दो नवजात शिशु तथा मातृ ज्यान गुमाउनेदर न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो । बाँकेमा मिश्रित समुदायको बसोबास छ । खासगरी मधेसी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ ज्यान गुमाउनेदर बढी देखिएको छ । जनचेतनाको अभाव, नियमित गर्भ जाँचलगायतका कारणले मृत्युदर बढेको स्वास्थ्य कार्यालय प्रमुख शाहीको भनाइ छ ।

नवजात शिशु तथा आमाको मृत्युदर न्यूनीकरणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । बाँकेमा नवजात शिशु र आमाकाे ज्यान गुमाउनेदर घट्न सकेको छैन् । मृत्युदरको तथ्याङ्क हेर्दा बजार क्षेत्रमा बढी छ । सचेतनाको अभाव र अस्वस्थकर जीवनशैलीका कारण बजार क्षेत्रमा नै मृत्युदर उच्च रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

-रासस



प्रतिक्रिया दिनुहोस !