२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कञ्चनपुरमा २५ फरार अभियुक्त पक्राउ

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार ०४:३६


महेन्द्रनगर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका गिरीसहित छजनालाई जरिवाना तोकेको थियो । सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई दोधारा चादँनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि अदालत पेस गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्तलाई स्थानीय घर ठेगानाबाटै पक्राउ गरिएको हो । तत्कालीन फैसलामा अदालतले रु दुई सयदेखि चार सयसम्म जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक चक्रराज जोशीले फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने क्रमले गति लिएको बताउनुभयो । तीन दिनको अवधिमा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट फरार रहेका २५ जनालाई कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कुटपिट, अभद्र व्यवहार, जबर्जस्ती करणी, सवारी ज्यानलगायतका मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो ।

त्यसैगरी पाँच दिनअघि पनि प्रहरीले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट फैसला भएका मुद्दाका १० जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । विसं २०७० मा कुटपिट मुद्दाका दीपक थलाल, रामदत्त भट्ट, राजी थलाल र राम थलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी अभद्र व्यवहार मुद्दाका नीरा दमाई, पशुपति दमाई, गोपाल चुनारा, महेश लुहार, आशिष सुनाह र अनुज गुप्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका फरार अभियुक्तलाई अदालत र प्रशासनले फैसलामा जरिवाना सजाय तोको थियो ।

त्यसैगरी प्रहरीले गत आइतबार पनि नौ जना फरार अभियुक्तलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय पेस गरेको जनाएको छ । जबर्जस्ती करणी मुद्दामा २०७९ चैतमा अदालतबाट छ महिना कैद र रु तीन हजार जरिवाना सजाय भएका केशवराज भट्टलाई समेत प्रहरीले पक्राउ गरी अदालत पेस गरेको छ ।

यहाँका विभिन्न स्थानमा पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जरिवाना सजाय तोकिएका सोलु बडैला, आयुश भट्टराई, नकजवनी चोरी मुद्दामा जरिवाना भएका कोसिस कार्की, सवारी ज्यान मुद्दाका नरसिंह धामीलाई नियन्त्रणमा लिएको थियो । गाली बेइज्जती मुद्दामा फरार रहेका भरत दमाई, पुनी दमाई र जोगीराम दमाई एवं कीर्ते जालसाज मुद्दाका पुरन कुमाललाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक जोशीले जिल्लाभर फरार अभियुक्त पक्राउ गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले विभिन्न मुद्दामा कैद सजाय तोकिएका र जरिवाना तोकिएका जिल्लाभरि करिब तीन हजार हाराहारीमा फरार सूची रहेको बताउनुभयो ।

“फरार रहेका अभियुक्त कसुरदातालाई कानुनी दायरामा ल्याउन मातहतका सबै युनिटसम्म सर्कुलर नै गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका साथै समग्र शान्ति सुरक्षा, तस्करी नियन्त्रण, लागुऔषध नियन्त्रणमा समेत सक्रियता बढाएका छौँ ।”
-रासस



प्रतिक्रिया दिनुहोस !