२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सन्दीपले मुद्दा लड्न थुना बस्नु नपर्ने

प्रकाशित मिति :  ११ फाल्गुन २०८०, शुक्रबार ०५:०२


काठमाडाैं । बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुना बाहिरै बसेर मुद्दा लड्न पाउने पाएका छन् ।

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनका लागि बिहीबार उच्च अदालत पाटन पुगेका लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न पाउने अनुमति दिइएकाे हाे ।

सन्दीपले जेल बाहिरै बसेर पुनरावेदन गरी भनी बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए । अदालतका रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमाेजिम सन्दीपलाई थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने सुविधा दिइएको हाे ।

सन्दीपलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । साेही आधारमा नै सन्दीपले जेल बाहिरै बसेर पुनरावेदनको सुविधा पाएका हुन् । पुर्पक्षका क्रममा थुनामा नबसेको व्यक्तिले जेलमा नबसे पनि पुनरावेदन गर्न सुविधा पाउने व्यवस्था दफा १३७ (२) मा छ ।

काठमाडाैं जिल्ला अदालतले बलात्कार मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउने फैसला पनि अदालतले गरेकाे थियाे ।

अदालतकाे साे फैसला बदरको माग गर्दै सन्दीप आज उच्च पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !