१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन केपी ओलीको आह्वान

प्रकाशित मिति :  ७ फाल्गुन २०७९, आईतवार ०४:३२


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट हुन आह्वान गर्नुभएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसमा अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले साे अभियानका लागि आ-आफ्नाे ठाउँबाट योगदान गर्न पनि आह्वान गर्नुभएकाे छ ।

एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ । तर संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा सरकारबाट बाहिर पुर्‍याइएपछि अवरुद्ध हुन पुगेको उहाँले स्मरण गराउनुभएकाे छ । अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानलाई आफूहरुले अझ सबल रूपमा अगाडि बढाउन चाहेको उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ – ‘एमालेले यस अभियानमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको साथ रहनेछ भन्ने विश्वास लिएको छ ।’

अध्यक्ष ओलीले नेपाली जनताको एकताबद्ध संघर्षबाट निरंकुश जहानियाँ राणा शासनको अन्त्य भएको दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ विन्दुका रूपमा स्थापित गरेको उल्लेख गर्नुभएकाे छ । समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरंकुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको विन्दुका रूपमा यस दिनलाई स्मरण गरिएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा एमालेको सरकारले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, अविकाशबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको पनि अध्यक्ष ओलीले स्मरण गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाउँदै प्रजातन्त्र प्राप्त भएको दिनले जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर भएको उल्लेख गर्नुभएकाे छ ।संविधानसभामार्फत जनताको संविधान निर्माण गरी तदनुरूपका संरचनालाई बलियो बनाउँदै सुशासन र विकासको दिशामा अघि बढिरहेको अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएको छ – ‘हामीले प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएका थियौँ ।’

प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण आदरणीय ज्ञातअज्ञात शहीदप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । अध्यक्ष ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा उहाँले शुभकामना दिनुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !