२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रहरी प्रधान कार्यालयको निरीक्षणमा गृहसचिव न्यौपाने

प्रकाशित मिति :  ११ चैत्र २०७७, बुधबार १०:३०


काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ ।

बुधबार गृहसचिव न्यौपानेले निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुभएको छ । सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन गर्दै उक्त सेन्टरबाट भिडियो कन्फरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिनुभयो ।

सचिव न्यौपानेले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताउनुभएको छ । उहाँले आचरण एवम् अनुशासनप्रति संवेदनशील भई पूर्ण ईमानदारिताका साथ आफ्नो प्रतिवद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन समेत दिनुभयो ।

गृहसचिव न्यौपानेले नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको बताउँदै प्रहरीका कार्यालयहरुको गतिविधि अनुगमन तथा कारवाही प्रकृया बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना कार्यान्वयनको साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका कार्य योजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्ने बताउनुभयो ।

गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकास लगायतका विषयमा गृह मन्त्रालयले छलफल अगाडि बढाएको चर्चा गर्नुभएको छ । यस वर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रीत गरी टिम बनाई थप सक्रियताका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिबाट प्राप्त अत्यन्तै महत्वपूर्ण समसामयिक र सान्दर्भिक निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोध सहित कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीले आफ्नो क्षमता प्रदर्शन भन्दा पनि ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने उहाँले क्षेत्रीले उल्लेख गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरीले आन्तरिक शुद्धिकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उहाँले चर्चा गर्नुभयो ।

उक्त अवसरमा गृहसचिव न्यौपाने समक्ष प्रहरी उपरीक्षक मनोज कुमार केसीले नेपाल प्रहरीको गतिविधि तथा प्रगति सम्बन्धी समीक्षात्मक प्रस्तुतीकरण गर्नुभएको थियो । गृहसचिव न्यौपाने प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा उहाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !