२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

प्रकाशित मिति :  ५ चैत्र २०७७, बिहीबार ०७:१२


ओखलढुङ्गा । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन ।

सामुदायिक र निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मीले अग्निरेखा बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको खटिएका सुरक्षाकर्मीले बताएका छन् । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ ।

निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उहाँको भनाइ छ ।

आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी खटाइएकाे छ। स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भएको छैन ।

-रासस



प्रतिक्रिया दिनुहोस !