१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाबुराम भट्टराईले राख्ने स्टाटस देश र जनताको विकाससँग जोडिएर आउनुपर्छ कि ?

प्रकाशित मिति :  २ माघ २०७८, आईतवार १०:०८


-नबराज पथिक

कुनै बुर्जुवा पार्टीको प्रधानमन्त्री होइन, सशस्त्र संघर्ष गरेर जनताको रगतमा होली खेलेर आएको पार्टीबाट बनेको प्रधानमन्त्री ।

डा. बाबुराम भट्टराईको परिचय यतिले मात्र पुग्दैन । पढाइमा तेज, विद्यावारिधि गरेको प्रधानमन्त्री । त्यति मात्र पनि होइन, भट्टराई नेपालको एसएलसीको बोर्ड फस्ट विद्यार्थी पनि हो ।

हुन त अहिले बाबुराम भट्टराईले माओवादी पार्टी छाड्नुभएको छ । उहाँ माओवादी पार्टीमा हुनुहुन्न । कम्युनिष्ट पार्टी छाडेर मधेस केन्द्रित राजनीति गर्ने हिजोको एउटा गैरसरकारी संस्थासँग बाबुराम जोडिन पुग्नुभएको छ ।

बाबुराम माओवादी नभए पनि वा कम्युनिष्ट पार्टीमा नरहे पनि उहाँलाई नेपालको माओवादी सशस्त्र द्वन्द्वका डिजाइनर मान्ने गरिन्छ । माओवादी पार्टीमा दोस्रो वरियादामा रहेर पार्टीको आन्दोलन हाँक्नुभयो । त्यही आन्दोलनकै प्रतिफल उहाँ छोटै कार्यकाल भए पनि नेपालको प्रधानमन्त्री बन्नुभयो ।

जुन पार्टीले प्रधानमन्त्री बनायो डाक्टर बाबुराम त्यही पार्टीमा बसिरहन सक्नु भएन । उहाँले नयाँ पार्टी खोल्नुभयो । पार्टी खोल्न पाउने र पार्टीमा सहभागी हुन पाउने व्यक्तिको संवैधानिक अधिकार हो । त्यो डा. भट्टराईले प्रयोग गर्नुभयो । त्यसमा कसैको टाउको दुखाइको कुरा भएन ।

उहाँको पार्टीबाट गएको संसदीय निर्वाचनमा उहाँले मात्र गोरखाबाट एक सिट जित्नुभयो । त्यो पनि कांग्रेससँग मिलेर ।

जनताले पत्याएनन् । उहाँको पार्टीले चुनाव हार्‍यो । यसलाई पनि त्यति चासोको विषय बनाइ रहनु परेन ।

एक पार्टी, एक सांसद् हुनुभयो, माओवादी आन्दोलनका कमाण्डर डा. बाबुराम । हिजोको सान मान सबै टुट्यो । नेताबाट सांसद्मा खुम्चिनुभयो डाक्टर भट्टराई ।

त्यसैले होला, उहाँले नेता बन्न आड खोज्नुभयो । आड खोज्दै जाँदा विगतमा मधेशमा सामाजिक काम गर्न दर्ता भएको गैरसरकारी संस्था मधेशी जनअधिकार फोरमबाट विकसित भएको उपेन्द्र यादवको पार्टीमा पुग्नुभयो ।

जोडिँदै फुट्दै जाने मधेस केन्द्रित दलको चरित्र अनुसार अहिले बाबुराम रहेको पार्टी जनता समाजवादी पार्टी (जसपा) नामबाट नेपालको राजनीतिमा छ । बाबुराम भट्टराई त्यसको नेता हुनुहुन्छ ।

राजनीतिक हिसाबले उहाँले कुन पार्टीमा हुनुहुन्छ ? उहाँलाई कताबाट कता लाग्दा बढी फाइदा हुन्छ ? उहाँले आफ्नो इमान, जमान वा आदर्श बेच्नुभयो कि, बोकेरै हिँड्नु भएको छ ? त्यसले उहाँलाई के कस्तो प्रभाव पार्छ ? त्यो उहाँको व्यक्तिगत कुरा हो ।

प्रमुख कुरा चाहिँ उहाँ नेपालको पूर्वप्रधानमन्त्री हो । पूर्वप्रधानमन्त्रीकै हैसियतले राज्यले दिने सबै सेवा, सुविधा, मान मर्यादा उहाँले लिनु भएको छ । त्यसैले उहाँले दिने सार्वजनिक अभिव्यक्ति र उहाँको सार्वजनिक व्यवहारमा चासो राख्ने अधिकार हरेक नेपालीलाई छ । यो मेरो व्यक्तिगत कुरा हो भनेर डा. भट्टराई उम्किन मिल्दैन ।

सामाजिक सञ्जालमा नियमित रुपमा छाइरहने पात्र हो डा. बाबुराम भट्टराई । चाहिने नचाहिने अभिव्यक्ति दिन र अरूका कुरा काट्न उहाँ निक्कै माहिर हुनुहुन्छ ।

एउटा पूर्वप्रधानमन्त्रीको हिसाबले देशमा देखिएका समस्या सुल्झाउने खालका विचार अभिव्यक्ति आउनु पर्नेहो डा. भट्टराईको । तर, उहाँका अभिव्यक्ति समस्या सुल्झाउने भन्दा पनि बल्झाउने, कसैको मर्यादा कायम राख्ने भन्दा पनि उछित्तो काढ्ने गरी गाली गलौज गर्ने गरी आउँछन् ।

के देशको प्रधानमन्त्री भइसकेको र पूर्वप्रधानमन्त्रीको सुविधा लिएर बसेको व्यक्तिबाट आउने त्यस्ता अभिव्यक्ति नेपालीले शिरोपर गर्न लायकका छन् ? के यो मेरो देशको पूर्वप्रधानमन्त्रीको अभिव्यक्ति हो भनरे गर्व गर्न लायकको छ ? डाक्टर भट्टराईलाई यो प्रश्न हो ?

केही समय यता डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफ्नो नातिको फोटो खुब राख्नु हुन्छ । त्यो अवोध शिशुको बाबुरामको खानदानमा जन्मिनु न दोष हो, न अवसर । त्यो प्रकृतिको नियम हो ।

तर डा. बाबुराम भट्टराईले नाति नामको पात्रलाई जसरी प्रयोग गर्नुभएको छ त्यो भने नेपाली नागरिक, अझ नेपाली बालबालिका प्रतिको उपहास र नेपाल र नेपालीको गरिबी प्रतिको अट्टहास नै हो ।

बाबुराम भट्टराई त्यही पात्र हो जसले विद्यालय पढ्दै गरेका बालबालिकालाई झोला सहित विद्यालयबाट बन्दुक बोक्न लग्यो । जङ्गलको बास गरायो । आज त्यही बाबुराम भट्टराई दुई वर्ष करिबको आफ्नो नातिको हातमा मार्कर थमाएर ह्वाइटबोर्डमा कोर्न लगाउँदै सगर्व स्टाटस राख्छ ‘कलम चलाउन सिक्दै… ।’

नाति पात्रलाई जाडो भएको भन्दै भएभरका लुगा लगाएर च्यापेको फोटो भट्टराईले सार्वजनिक गर्दा जाडोले लुगलुग काम्दै गरेको नेपाली मनमा के प्रभाव पार्ला ? अनि बाबुराम जस्तै एउटा नातिको हजुरबाबुको मनमा के कुरा पलाउला ? अझ बाबुरामकै नातिको उमेरमा माओवादी द्वन्द्व कै कारण बाबु गुमाएर हुर्किएको नेपाली छोराको मस्तिष्कमा यसले के प्रभाव पार्ला ?

अहिले पनि पर्याप्त पोषण नभएर कुपोषित भएका नेपाली बालबालिकाको सङ्ख्या निक्कै छ । तर त्यही देशका पूर्वप्रधानमन्त्रीको सुविधा लिएर बसेका डा. बाबुराम भट्टराई आफ्नो नातिलाई च्यापेर जिम गरेको फोटो सामाजिक सञ्जालमा राख्दै लेख्नुहुन्छ,‘ नियमित व्यायामको अभ्यास गर्दै नाति–हबा !’

यो ती कुपोषित नेपाली बालबालिका प्रतिको उपहास नभएर के हो ? राज्यको सुविधा लिएर राज्यका जनतालाई उडाउने ? नागरिकलाई उपहास गर्दै राजसी ठाँट देखाउने ? कुरा कम्युनिष्टका गर्ने तर आफूलाई छुट्टै ग्रहको प्राणीको रुपमा उभ्याउने ?

डा. बाबुराम भट्टराईले आफ्नो नातिलाई माया गर्नुहोस् । खुवाउनुहोस्, पियाउनुहोस्, योग्य बनाउनुहोस् । यो उहाँको व्यक्तिगत कुरा हो । तर सार्वजनिक व्यक्तिले सार्वजनिक सञ्जालमा यस्ता स्टाटस राख्दा ख्याल पुर्‍याउनु पर्दैन ? कि उहाँको देश र जनता प्रति कुनै उत्तरदायित्व छैन ?

डा. बाबुराम भट्टराईले राख्ने स्टाटस देश र जनताको विकाससँग जोडिएर आउनुपर्छ कि ? नातिले के खायो ? कस्तो लगायो ? वा के गर्दै छ भन्ने आउनुपर्छ ? नागरिकले बाबुरामसँग उहाँको नाति के गर्दै छ भन्ने कुरा आश गरेका छन् कि देशको समस्या के हो ? देश कसरी अघि बढ्न सक्छ भन्ने कुराको आशा गरेका छन् ? के नेपाली जनताले बाबुरामलाई प्रधानमन्त्री बनाएका यही हेर्न र यही सन्देश लिनको लागि हो ? यसको जवाफ बाबुरामले दिनु पर्दैन ?



प्रतिक्रिया दिनुहोस !