१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साताको शेयर बजार: १६ अर्बको कारोबार, ओरोलो लाग्ने क्रम जारी

प्रकाशित मिति :  २७ कार्तिक २०७८, शनिबार ११:०३


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।

साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।

बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट रु चार करोड र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल दुई सय ३० कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कूल दुई करोड ८६ लाख चार सय नौ कित्ता शेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार एक सय ९० मूल्यमा खरिद बिक्री भए ।

दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अङ्कले ओरालो लाग्यो । सोमबार नेप्से १९.२० अंकले घटेर दुई हजार ८२९.६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन ।

कूल दुई सय ३० कम्पनीको ७२ लाख सात हजार तीन सय ९६ कित्ता शेयर चार अर्ब ४२ करोड सात लाख १९ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ५२ करोड १० लाख तीन हजार पाँच सय ९० रुपैयाँ बराबरको कारोबार भयो ।

मंगबार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९.७९ अंकले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अङ्कले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो ।

कूल दुई सय २५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार पाँच सय ४७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार सात सय ५२ रुपैयाँको कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।

साताको अन्तिम दिन बिहीबार पनि नेप्से उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ५९.५७ अंकले घटेर दुई हजार ६९०.२९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अंकले घटेर ५०२.१९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कूल दुई सय २५ कम्पनीको ९४ लाख ७५ हजार नौ सय ३६ कित्ता शेयर पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार पाँच सय ४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो ।

बिहीबार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही ४७ करोड ४९ लाख ३४ हजार पाँच सय २१ रुपैयाँ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

–रासस



प्रतिक्रिया दिनुहोस !