१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता खाने पाँच कर्मचारीविरुद्ध मुद्दा

प्रकाशित मिति :  १३ आश्विन २०७८, बुधबार ०९:०१


काठमाडाैं । उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन गाविस सचिव केशव प्रसाद आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकेा छ ।

मृत्यु भइसकेका व्यक्तिकाे नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम हिनामिना गरेकाे अभियाेगमा उनीहरुविरुद्ध आख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हो ।

उनीहरुमाथि ८-१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको अभियोग लागेको छ । मृत्यु भइसकेकाका व्यक्तिकाे नाममा उनीहरुले सामाजिक सुरक्षा भत्ता झ्वाम पारेका अख्तियारकाे अनुसन्धानबाट खुलेकाे हाे ।

ठोक्सिलामा आर्थिक वर्ष ०६३-०६४ देखि आर्थिक वर्ष ०७१-०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपछि पनि उनीहरुले सामाजिक सुरक्षा भत्ता बाँडेकाे अनुसन्धानबाट खुलेको छ । उनीहरुले १६ लाख ४० हजार पाँच सय रुपिया हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

भत्ता हिनामिना गरेकाे अभियाेगमा तत्कालीन गाविस सचिव हाल मालपोत कार्यालय उदयपुरमा नायव सुब्बा केशव प्रसाद आचार्यलाई ९ लाख ९० हजार ५ सय रुपैयाँ बिगो मागदावी गरिएकाे छ ।

तत्कालीन गाविस सचिव हाल रौतामाई गाउँपालिका-७ काे वडा सचिवमा कार्यरत खरिदार लोकेन्द्र कार्कीलाई ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । तत्कालीन गाविस सचिव पदमा कार्यरत हाल तथ्यांक कार्यालय उदयपुरमा कार्यरत खरिदार विसाल सुन्दासलाई ८२ हजार रुपियाँ बिगो दाबी गरिएकाे अख्तियारकाे आराेपपत्रमा उल्लेख छ ।

तत्कालीन गाविस सचिव (नासु) हाल रौतामाई गाउँपालिकाको कार्यालयमा अधिकृत छैटौं पदमा कार्यरत माधव प्रसाद खतिवडालाई ३ लाख १४ हजार रुपैयाँ बिगो दाबी गरिएकाे छ । तत्कालीन गाविस सचिव पदमा कार्यरत (हाल अबकास प्राप्त) शाखा अधिकृत पुष्पराज सिग्देललाई १ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गरिएकाे अख्तियारले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !