१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शेयर बजार अब के हाेला ? यस्ताे छ तथ्य

प्रकाशित मिति :  २० भाद्र २०७८, आईतवार ११:३५


काठमाडाैं । के नेप्से अझै घट्छ ? हो, अवश्य घट्छ । नेप्से किन घट्यो ? किन घट्दैछ ? किन अझ पनि घट्ने अवस्था देखियो ? यो बारेमा विष्लेशण हुन जरुरी छ । र, घटे लगत्तै ठूलाे उछाल आउनेवाला छ । यसबारेमा विष्लेशण गराैं ।

यो विष्लेशण लेख्दै गर्दा सुरुमै लेखौं– बजारमा वियरिश ट्रेण्ड सुरु भएको हुँदै होइन । वियरिश ट्रेण्ड सुरु नभएको अनेक आधार छन् । यो ठूलो करेक्सन हो । यो करेक्सन नेप्सेले सजिलै पचाउँछ । बजार केही दिन अझै ओरालो लाग्ने देखिन्छ । त्यसपछि फेरि बजारले बाउन्स ब्याक गर्नेछ ।

अहिले किन नेप्सेमा पहिरो गयो ? यसलाई केही बुँदामा चर्चा गरौं –

 बजार निरन्तर उकालो लाग्दै आएको थियो । गत केही महिनादेखि बुलमा प्रवेश गरेको नेप्सेमा खासै ठूलो करेक्सन भइरहेको थिएन । ठूलो करेक्सन बिना बजार अगाडि बढ्छ भने झन् ठूलो करेक्सन हुने जोखिम हुन्छ । अहिले त्यही भएको हो ।

 नेप्सको आकार र आयतन अचानक बढ्यो तर बजार परिपक्व भएको थिएन । अनुवभी र परिपक्व पूराना लगानीकर्ताले बजारलाई ड्राइभ गर्न सकेनन् । किनभने ठूलो संख्यामा नयाँ लगानीकर्ता थपिए । उनीहरु परिपक्व भएका छैनन् । नयाँ लगानीकर्ताका कारण करेक्सन आँधीका रुपमा आयो ।

 बजार उकालो लाग्दा मात्तिने र ओरालो लाग्दा आत्तिने प्रवृत्ति विश्वभरीको शेयर बजारमा देखिन्छ । नेपालमा पनि त्यो प्रवृत्ति देखिनु अस्वाभाविक होइन । नयाँ लगानीकर्ताको बाहुल्य हुनाले बजार ओरालो लाग्दा आत्तिने प्रवृत्ति अलि चर्कैसँग देखियो । फलतः नराम्रोसँग बजार झर्न पुग्यो ।

 बजार घट्दा र बढ्दा दुवै अवस्थामा चलखेल शब्द प्रयोग हुन्छ । पूराना र ठूला लगानीकर्ताले बजार झार्न खोजेको प्रष्टसँग देखिँदैथ्यो । उनीहरु बहाना खोजिरहेका थिए । मौका ढुकिरहेका थिए । उनीहरु सफल भए । बजार झरेको छ । अब सस्तो शेयर उनैले उठाउनेछन् । सस्तोमा शेयर उठाएर महंगोमा बेच्ने ठूलो र अप्राकृतिक चलखेलका कारण अहिलेको अवस्था आयो ।

 १२ करोडको क्यापलाई अहिले मुख्य बहाना बनाइएको छ । यो सत्य होइन । केही सय मानिसले पचासौं करोड रुपैयाँ शेयर धितो राखेर ऋण लिएका थिए । सो ऋणको रकमले फेरि शेयर किन्ने गरेका थिए । राष्ट्र ब्यांकले यस्तो प्रवृत्तिमा अंकुश लगाइदियो । जसका कारण केही घरानीया शेयर खेलाडीलाई मर्का पर्न गयो । उनीहरुले बजारमा शेयर बेच्न थाल्ने आशंकाका कारण पनि बजारमा पहिरो गयो ।

 चाडबाडको याम र शेयर बजार बीच यो वर्ष प्रत्यक्ष सम्बन्ध छ । साना लगानीकर्ताले दशैं मनाउन शेयर बेच्न थाल्ने र त्यसले सेलिङ प्रेसर सिर्जना गर्ने आकलन पहिले देखि नै गरिएको थियो । अलि पहिलेबाटै बजार घट्न थालेपछि दशैं लक्षित शेयर विक्री पनि सुरु भयो । जसका कारण नेप्से ठूलो परिमाणमा घट्यो ।

अब के हुन्छ ?

जति ठूलो करेक्सन हुन्छ, प्यानिक सेलिङ अर्थात् आत्तिएर शेयर बेच्नेहरुको संख्या उति धेरै हुन्छ । शेयर बेच्न मनोवैज्ञानिक दवाब सिर्जना भइरहेको थियो । यही मौकामा बजार घट्यो । आइतबार बजार ४० मिनेट बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो । नेप्से धेरै घट्दा र धेरै बढ्दा बजार बन्द हुन्छ भन्ने नयाँ लगानीकर्ताले अनुभव गर्न पाएका थिएनन् । शेयर बजारमा छिरेका धेरैका लागि यो नौलो घटना हो । यसले पनि नकारात्मक मनोवैज्ञानिक असर सिर्जना गर्नेछ ।

बजार केही दिन ओरालो लाग्न सक्छ । यसको अर्थ वियरिस ट्रेण्ड सुरु भएको भन्ने चाहिँ हुँदै होइन । अहिले ब्रोकरको अफिसमा गइयो भने टिएमएस बनाउनेहरुको घुईंचो देखिन्छ । आइपीओ परेका हजारौं लगानीकर्ता सकेण्डरी मार्केटमा थपिएको थपियै छन् । स्वाभाविक हो, लगानीकर्ता पहिले थोरै रकम लिएर छिर्छन् । त्यसपछि लगानी बढाउँदै लैजान्छन् ।

बजारमा सेलिङ प्रेसर चरम छ । तर, यो अन्तिम चरणमा पुगेको देखिन्छ । एकदुईदिन बजार अरु घट्यो भने त्यसपछि बजार समानान्तर रुपमा अर्थात् केही दिनमा साइडवेजमा जानेछ । किनभने बजारमा विक्रीकर्ता सकिने अवस्था आउँदैछ । बजार केही दिन साइडवेजमा चल्यो भने पनि त्यसपछि खरीद चाप बढ्नेछ र बजार उकालो लाग्नेछ ।

नेपालको वियर र बुलको ऐतिहासिक ट्रेण्डले पनि बजार अहिले नै वियरमा जाँदैन भन्ने देखाउँछ । बजार वियरमा जान्छ नै भने पनि अहिले जाँदैन । बोनस र डिभिडेण्डको सिजन सकिएपछि मात्र बजार लामो समय ओरालो लाग्न सक्छ । अर्काे कुरा, अबको वियर र बुल लामो अवधीको हुने छैन । किनभने बजारमा लगानीकर्ता ठूलो संख्यामा थपिएका छन् ।

घटेको बजारमा शेयर किन्न ढुकेर बसेको ठूलो जमात छ । सस्तो मूल्यमा शेयर किन्न हारालुछ हुने अवस्था छ । त्यसकारण बजारले बाउन्स ब्याक गर्नेछ । दशैं अगाडि नै बजारले राम्रो लय समात्नेछ । तिहारपछि बोनस र डिभिडेण्डको सिजन ढकमक्क हुनेछ । त्यसपछि नेप्से ३५ सय मात्र नभएर चार हजार माथि पनि पुग्न सक्छ ।

बजारमा अहिले गएको पहिरोले लगानीकर्तालाई परिपक्व बनाउन सहयोग गरेको छ । बजारमा आउने चढावले नभएर उतारले अर्थात् ओरालो लागेको बजारले लगानीकर्तालाई परिपक्व बनाउँछ । परिपक्व लगानीकर्ताले बजारलाई दिगो बनाउनेछन् ।

त्यसैले अहिले बजार अस्थायी रुपमा झरेको हो । यतिबेला आफूसँग भएको शेयर घाटा खाएर बेच्ने मूर्ख हो, सस्तोमा किन्ने चाहिँ बुद्धिमान हो ।

ख्याल गरौं– शेयर बजार मूर्खहरुका लागि होइन, बुद्धिमानले नै विजय हासिल गर्छ ।



प्रतिक्रिया दिनुहोस !