६ कार्तिक २०७८, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शैलुङ्गमा कस्मिरी स्याउ

प्रकाशित मिति :  ११ श्रावण २०७८, सोमबार ०४:४७


रामेछाप । आलु उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको रामेछाप र दोलखाको शैलुङ्ग स्याउ उत्पादनको लागि पनि उपुक्त भूमि ठहरिएको छ ।

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाको शैलुङ्ग क्षेत्रमा अहिले लटरम्मै स्याउ फलेका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवाको राजभिरमा कस्मिरी जातको स्याउको राम्रो उत्पादन भएपछि शैलुङ्गका किसानलाई अर्को व्यवसायीक फलफूल खेतीको बाटो खुलेको छ ।

डडुवाको राजभिर, धारा लगायतको क्षेत्रमा अहिले एक हजार भन्दाबढी स्याउका बोटले उत्पादन दिएको स्थानीय दावासङ्बु सेर्पाले जानकारी दिनुभयो । स्थानीय वाङ्छिरी सेर्पाको बंगैचामा मात्रै ५ सय भन्दाबढी स्याउका बोट छन् ।

अन्य किसानले पनि परीक्षणको रुपमा केही बोट स्याउ लगाएका छन् । परीक्षणको रुपमा लगाएको बिरुवाबाट राम्रो उत्पादन भएपछि किसानले स्याउका बिरुवा थप्दै गएको सेर्पाले बताउनुभयो ।

शैलुङ्गमा उत्पादन भएको स्याउको स्वाद कस्मिरी भन्दापनि मिठो, रसिलो र स्वादिलो भएको सेर्पाको भनाइ छ । यसले गर्दा स्थानीय स्तरमा र बाहिरबाट आउने मानिसको समेत यहाँको स्याउको उच्च माग रहेको उहाँले बताउनुभयो । ‘भर्खरै परीक्षणको रुपमा उत्पादन सुरु भएको हो, बाहिर बजारमा पुर्याउन सकेको छैन, स्थानीय र शैलुङ्ग घुम्न आउने पर्यटकको माग पनि धान्न सकिएको छैन’, सेर्पाले भन्नुभयो ।

सुरुमा चार वर्ष अघि स्थानीय छेवाङ्दु शेर्पाले कस्मिरबाट राजभिर गुम्बामा आउने धर्मगुरु मार्फत स्याउका बिरुवा मगाउनुभएको थियो । कस्मिरबाट ल्याएका २ सय बिरुवाबाट सुरु भएको स्याउको परीक्षण खेती अहिले शैलुङमा विस्तार हुँदै छ । ‘अहिले ग्राफ्टिङ गरेर यहीँ बिरुवा उत्पादन गर्ने काम सुरु भएको छ, राम्रो फल लागेपछि किसानको ध्यान स्याउ खेतीले तानेको छ’, उहाँले भन्नुभयो ।

व्यवसायिक रुपमा खेती लगाउनु भएका वाङ्छिरी सेर्पाले राम्रो आम्दानी लिन सुरु गरिसक्नु भएको छ । उहाँले गतवर्षदेखि नै वार्षीक २ हजार ५ सय केजीभन्दा बढी स्याउ बिक्री गर्न लागिसक्नु भएको छ । प्रतिकेजी १ सय ५० देखि २ सय रुपैँयासम्मा स्याउ बिक्री गर्नुभएका सेर्पाले स्याउबाट वार्षीक ४ लाख भन्दबढी कमाइ गर्न लागिसक्नु भएको छ ।

उहाँले लोभलाग्दो आम्दानी गर्न लागेपछि अन्य किसान पनि स्याउ खेतीमा आकर्षीत भएका छन् । किसानले शैलुङमा परीक्षणको रुपमा मुस्ताङ र कस्मिरको स्याउ लगाएका थिए । मुस्ताङको स्याउमा भने फल नलागेको दावासङ्बुले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !