१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्याराजम्पिङका क्रममा टुडिखेल बाहिर खसेका ६ जना सैनिक सकुशल

प्रकाशित मिति :  २५ फाल्गुन २०७७, मंगलवार ०९:४८


काठमाडौं । मंगलबार दिउँसाे काठमाडाै‌मा तिब्र हावा चल्याे । ठाउँठाउँमा हुरी चल्याे ।

यसकाे असर पर्‍याे नेपाली सेनाकाे प्याराजम्प टाेलीलाई । सेना दिवसका दिन टुँडिखेलमा गरिने प्रदर्शनीकाे अभ्यास गरिरहेकाे थियाे नेपाली सेनाकाे प्याराजम्प टाेली । तिब्र हावाकाे बेगमा परेर प्याराजम्परहरु दुर्घटनामा परेका हुन् । हेलिकप्टरबाट प्याराजम्प गरेका ६ जना सैनिक हावाकाे तिब्र बेगमा हेलिएपछि टुँडिखेलभन्दा बाहिर अवतरण भएका हुन् ।

शिवरात्रीका दिन पर्ने सेना दिवसको ‘ग्राण्ड रिहर्सल’ गर्ने क्रममा सेनाका १४ जनाले प्यारासुटबाट हामफालेका थिए ।  उनीहरुमध्ये ६ जना निर्धारित विन्दुभन्दा पूर्वपट्टि बग्गीखाना क्षेत्रमा अवतरण भएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जोडले हावा चलेका कारण प्यारासुट अवतरण क्षेत्रभन्दा बाहिर गएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो – ‘सेना दिवसको अभ्यास गर्दैगर्दा प्याराजम्पिङ युनिटले ‘फ्रिफल’ गर्ने क्रममा हावाको तिब्र गतिले प्यारासुट अवतरण क्षेत्रभन्दा बाहिर गएको थियाे । ६ जना सैनिक सकुशल रहनुभएको छ ।’

नेपाली सेनाले प्रत्येक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँछ । सेना दिवसको अवसरमा प्याराजम्पिङ युनिटले प्यारासुटबाट हामफाल्ने गर्छ । यो प्रतिस्पर्धामा प्रथम र द्वितीय  हुनेलाई राष्ट्रपतिबाट पुरस्कृत गर्ने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !