३१ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना दिवस

प्रकाशित मिति :  १० बैशाख २०८१, सोमबार १०:१३


काठमाडाैं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७५ औं स्थापना दिवस, देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइँदैछ ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएर ७६ वर्ष लागेकाे अवसरमा सत्तारुढ प्रमुख घटक नेकपा एमालेसहित साना कम्युनिष्ट पार्टीले पनि विभिन्न कार्यक्रम गर्दैछन् ।

कम्युनिष्ट पार्टी स्थापना भएको दिनको सम्झनामा नेपालका कम्युनिष्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसकाे अवसरमा एमालेले ललितपुरकाे गाेदावरीमा आज हिरक जयन्ती महाेत्सव आयाेजना गरेकाे छ ।

२००६ साल वैशाख १० गते अर्थात् आजकै दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियाे । उहाँहरुले भारतको काेलकत्तामा पार्टी स्थापना गर्नुभएकाे थियाे । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपाकाे संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्याे ।

पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो । मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रम अन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ लगायत कार्यक्रम निक्कै लोकप्रिय बने । त्यसपछि भने कम्युनिष्ट पार्टीहरु पटक-पटक सत्तामा गएका छन् ।

कोलकाताको एउटा कोठाबाट सुरु भएको नेपालको कम्युनिष्ट पार्टी ७५ वर्ष पुगेर ७६ वर्षमा आइपुग्दा देशको सबैभन्दा ठूलो शक्ति बन्याे । तर देशभिन्न टुटफुट विभाजन पार गर्दै देशकै सबैभन्दा ठूलो र संसद्‍मा करिब दुई तिहाईको अवस्थामा पुगेको कम्युनिष्ट पार्टी फेरि विभाजन भयाे ।कम्युनिष्ट पार्टी विभाजन भएपनि एमाले नै अहिले देशकाे पहिलाे र शक्तिशाली कम्युनिष्ट शक्तिका रुपमा कायमै छ । समग्रमा पनि एमाले नै देशकाे सबैभन्दा ठूलाे राजनीतिक शक्ति छ ।

स्थापनापछि पटक-पटक कम्युनिष्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिष्ट आन्दोलनले गति पाएको थियो । एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।

०७४ को आमचुनावमा एमाले र माओवादी एकीकरणसहित चुनावी मैदानमा होमिए । त्यस चुनावमा नेपाल कम्युनिष्ट पार्टीले करिब दुई तिहाई मत पाएको थियो । तर एकीकरणको ३ वर्ष नपुग्दै दुवै पार्टी विभाजन भए । एमालेबाट माधवकुमार नेपालकाे समूह बाहिरियाे । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालहरु बाहिरिएपछि एमालेकाे झन् बलियाे र शक्तिशाली रहेकाे एमालेका नेताहरु दाबी गर्छन् ।

०७९ मंसिर ४ मा भएकाे आम चुनावमा एमाले एक्लै चुनावी मैदानमा हाेमियाे र दाेस्राे ठूलाे दल बन्याे । यद्यपि लाेकप्रिय मतकाे आधारमा एमाले देशकै पहिलाे शक्ति बन्याे । माओवादी केन्द्रले नेपाली कांग्रेस लगायत दलसँग गठबन्धन गरेर पनि तेस्राे भयाे ।

त्यस चुनावपछि माओवादी सम्मिलित कांग्रेस नेतृत्वकाे तत्कालीन गठबन्धनले सरकार बनाउन सकेन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री मागेपनि कांग्रेसले दिएन । त्यसपछि नेकपा एमालेले सरकार बनाउन पहल गर्‍याे र एमालेकै पहलमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयाे । सरकार गठनका बेला राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएकाे थियाे । त्याे सहमति प्रचण्डले ३ महिना नबित्दै ताेड्नुभयाे र तत्कालीन गठबन्धनमै फर्किनुभयाे । कांग्रेसका रामचन्द्र पाैडेललाई राष्ट्रपति बनाउनुभयाे ।

फेरि ०८० फागुनमा नयाँ सत्ता समीकरण बन्याे । नेकपा एमालेकाे विशेष पहलमा बनेकाे सत्ता समीरकणमा एमालेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, जसपा सहभागी छन् ।

स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टीहरु विभाजन र एकताको श्रृंखलाबाट गुज्रँदै कहिले जुट्दै त कहिले फुट्दै आएका छन् । अहिले नेपालमा विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टीहरु सञ्चालित छन् । अहिले नेपालमा करिब एक दर्जन कम्युनिष्ट पार्टी छन् ।



प्रतिक्रिया दिनुहोस !