१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  ३१ बैशाख २०८१, सोमबार ०९:१०


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक राख्नुभएको हो ।

संसदीय दल कार्यसमितिको बैठक दिउँसो १ बस्ने र त्यसपछि २ बजेबाट बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएपछि संघीय संसद्का दुवै सदन चल्न दिएको छैन । सरकारले भने मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम राखेको छ ।

सोमबारको दलको बैठकमा सोही प्रकरण र संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्ने विषयमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो । कांग्रेस नेताहरूले संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसद्का दुवै सदन पूर्णरुपमा ठप्प पार्ने अडान राख्दै आएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई त्यसबारे छलफल गर्न बोलाएका थिए । छलफलमा सहभागी हुन सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री दाहालले छानविन समिति गठन गर्न सकिने, तर गृहमन्त्री लामिछानेको नाम जोडेर व्यक्ति केन्द्रीत गर्न नहुने अडान लिएका थिए । कांग्रेसले त्यसलाई सकारात्मकरुपमा लिएको थियो ।

प्रधानमन्त्री दाहालले आइतबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै व्यक्तिकेन्द्रीत भन्दा पनि समग्र सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न सकिने बताएका थिए ।


226
Shares

प्रतिक्रिया दिनुहोस !