२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डिएसपी खड्काले दिएको यातनाको कारण आत्महत्या गरेको भन्दै दोलखा जिल्ला अशान्त बन्यो

प्रकाशित मिति :  ५ फाल्गुन २०८०, शनिबार १७:०६


काठमाडौं । प्रहरीले नागरिकलाई सुरक्षा दिने हो । समाजमा शान्ति तथा अमनचैन कायम गराउने हो । तर दोलखा जिल्ला भने सुरक्षा प्रमुखकै कारण यति बेला अशान्त बनेको छ । 

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणि न्यौपानेले जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक खड्काले दिएको मानसिक र शारीरिक यातनाको कारण शनिबार बिहान आत्महत्या गरेको भन्दै दोलखा जिल्ला अशान्त बनेको छ । 

न्यौपानेको आत्महत्या प्रकरणमा जोडिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक खड्काले मापसे चेक, राजीनामा र कारबाहीको माग गर्दै दोलखावासी जिल्ला सदरमुकाम चरिकोटमा आन्दोलनमा उत्रिएका छन् । 

डीएसपी खड्काको यातनाको कारण न्यौपानेले आत्महत्या गरेको भन्दै आफन्तले शव पोष्टमार्टम गर्न दिएका छैनन् । शनिवार साँझ वार्ताका लागि बोलाइएकोमा पीडित पक्ष जिल्ला प्रहरी कार्यालय पुग्दा डीएपी मदिराले मातेर बसेको पाइएपछि स्थानीय थप आन्दोलित भएका हुन् । स्थानीयले डीएसपीको मापसे परीक्षण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका छन् । 

शुक्रबार राति डीएसपी खड्काले रक्सीले माते पछि न्यौपानेलाई फोन गरेर धम्क्याएको परिवारको आरोप छ । डिएसपीको धम्कीपछि न्यौपानेले शनिबार बिहान सुसाइड नोट लेखेर आत्महत्या गर्नुभएको थियो ।  

न्यौपानेको दोलखाको मेलुङ गाउँपालिका–१ पवटीको घरमा भाडामा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाबाट माघ १५ गते राति ३२ लाख ८७ हजार रुपैयाँ चोरी भएको भनि उजुरी परेपछि प्रहरीले न्यौपानेलाई अनुसन्धानका लागि भन्दै गत माघ १७ गते नियन्त्रणमा लिएका थिए । माघ १७ गते नियन्त्रणमा लिएका न्यौपानेलाई प्रहरीले केही दिन हिरासतमा राखेर छाडी पुनः नियन्त्रणमा लिई फागुन २ गते छाडेको थियो । 

सहकारी चोरीको घटनामा सञ्चालकलाई सामान्य सोधपुछ समेत नगरी घरधनीलाई पटक पटक नियन्त्रणमा लिने र यातना दिने गरेपछि स्थानीय तथा सहकारीका शेयर सदस्यहरूले डीएपीको नियत माथि प्रश्न उठाएका थिए । सो रकम सञ्चालकहरूले गायब गरेर चोरी भएको भनेको हुनसक्ने आशंका पनि गरिएको छ । 

प्रहरीले छाडेपछि घर जानुभएका न्यौपानेलाई डीएसपी खड्काले पुनः फोन गरेर धम्काउनुभएको थियो । डीएसपीकै यातनाको कारण न्यौपानेले आत्महत्या गरेको आफन्तहरूको भनाइ छ ।  

खड्काले यस अघि पक्राउ परेका आरोपीलाई पनि हिरासतमा यातना दिएको आरोप लागेको छ । यस अघि काठमाडौंमा रहँदा पनि ड्युटीमा लापरबाही गरेको भनि उहाँमाथि कारबाही भएको थियो । 



प्रतिक्रिया दिनुहोस !