२५ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तर्सिएको गठवन्धन, लुलो खुट्टा र दह्रो खुट्टा

प्रकाशित मिति :  २९ पुष २०८०, आईतवार १२:४३


मिना विश्वकर्मा

कामभन्दा कुरा ठूलो, हिँड्न लागे खट्टा लुलो भन्ने उखान नेपालका कैयन नेताहरुसँग मिल्छ । खासगरी कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ लगायतका नेताहरु मौका र परिस्थिति हेरेर ठूलाठूला गफ हानिहाल्छन् । गफ हान्ने तर काम नगर्ने नेताका रुपमा कांग्रेस कार्यकर्ताहरुले उनीहरुको नाम लिने गरेका छन् ।

गगन र विश्वप्रकाश लगायतका नेताहरुले गत आम चुनावपछि अब कहिले पनि अरुसँग मिलेर कांग्रेस चुनाव लड्दैन भने । कांग्रेस एक्लैले चुनाव लड्छ भन्ने उनीहरुको भनाई थियो । उनीहरुले दिएको गफमा कांग्रेसभित्र ताली पनि बज्यो । तालीको आवाज सकिन नपाउँदै राष्ट्रिय सभाको चुनाव आयो । चुनावमा माओवादी र साना दलहरुसँग कांग्रेस मिलिहाल्यो ।

जसो गरे पनि माओवादी सहितको साना पार्टीलाई बोक्नुपर्ने बाध्यतामा कांग्रेस किन पर्छ ? गगन र विश्वप्रकाशहरुसँग जवाफ छैन । यिनै गगन र विश्वप्रकाशहरु आउँदो आम चुनावमा जित्नका लागि साना पार्टीहरुको समर्थन खोज्दै खासखास नेताहरुको घरदैलो गरेको देखिने पक्का छ ।

राष्ट्रिय सभामा सत्ता गठवन्धन एक ढिक्का हुनुको मुख्य कारण स्वदेशी मात्र नभएर विदेशी पनि हो । अर्काे मुख्य कारण एमालेले गरेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा पनि हो ।

एमालेले मंसिर १४ देखि पुष १ गतेसम्म समृद्धिका लागि संकल्प यात्रा गरेको थियो । एमालेले सो यात्रा घोषणा गर्दा ठूलो चर्चा परिचर्चा भएन । धेरैलाई के लागेको थियो भने अन्य राजनीतिक पार्टीहरुले झैं एमालेले पनि कुनै साधारण अभियान चलाउन लागेको होला ।

वास्तवमा अभियान साधारण नै थियो । महाकालीको झुलाघाटबाट मेचीको चिवा भञ्ज्याङसम्म नेताहरुले यात्रा गर्नु कुन ठूलो कुरा भयो र भन्ने धेरैलाई लागेको थियो । तर, साधारण यात्राको असाधारण परिणाम देखियो ।

यात्राको क्रममा एमालेप्रति अपार जनसमर्थन देखियो । एमालेका अध्यक्ष केपी ओलीप्रतिको जनसमर्थन असाधारण देखियो । यात्राले एमालेको समग्र पार्टी पंक्तिलाई परिचालित गरायो, उत्साहित गरायो । मुख्य कुरा, एमालेको संकल्प यात्राले समग्र जनताको ध्यान तान्यो । आम जनतामा आशा र उत्साह जगायो ।

काठमाडौंको सडक र गल्लीहरुमा खासखास किसिमका पात्रहरु निकै प्रभावशाली छन् । प्रभावशाली यस अर्थमा कि उनीहरु निकै बिकाउ हल्लाखल्ला गर्छन् । उनीहरुले चलाएको हल्ला अनुसार अब सबै पूराना पार्टी सकिए, एमाले समाप्त भयो । झापाकै एकजना प्रसाईं थरका मान्छे छन्, उनको बोलि निकै मनोरञ्जक छ, पहिलेपहिले म मनोरञ्जनका लागि उनको गालीगलौजयुक्त अन्र्तवार्ता युटुबमा सुन्थें । थुतुनो चलाएकै भरमा उनी झण्डै नेता पनि बने । उनले पनि एमाले भन्ने पार्टी अब समाप्तै भयो भन्थे ।

ती प्रसाईं टाइपका मानिसहरु एमाले समाप्त भयो भनिरहेका थिए । एमाले समाप्त हुने कल्पना पनि गर्न सकिँदैन । संकल्प यात्राले के देखायो भने एमाले अब झन् जाग्यो । कांग्रेस, माओवादी, समाजवादी सहितको गठवन्धनले जति प्रयास गर्दा पनि एमालेलाई गत आम चुनावमा रोक्न सकेन, हो, उनीहरुले बहुमत रोक्न सके तर लोकप्रिय मतका दृष्टिले एमालेलाई देशको सबैभन्दा ठूलो पार्टी बन्नबाट रोक्न सकेनन् ।

गत आम चुनावमा एमालेले सर्वाधिक मत ल्यायो तर प्राविधिक रुपमा भने थोरै सीट आयो । नेपालमा सबैभन्दा धेरै जनताले समर्थन गरेको पार्टी एमाले हो । र, एमालेको लोकप्रियता झन् झन् बढेको छ, यसका अध्यक्ष केपी ओलीको लोकप्रियता झन् झन् बढेको छ भन्ने संकल्प यात्राले देखायो ।

चुनाव हुने ०८४ साल आउन अरु धेरै समय बाँकी छ तर एमालेको लोकप्रियताबाट सत्ता गठवन्धन अहिले नै आत्तिएको छ । गठवन्धन टुट्यो भने सत्ता मात्र गुम्ने छैन, ०८४ मा विजोग हुने पनि निश्चित छ भन्ने गठवन्धनका दल तथा त्यसका नेताहरुले प्रष्ट बुझे । उनीहरुलाई बुझाउने काम संकल्प यात्राले गरेको छ ।

अहिले नै एमाले यति लोकप्रिय छ, ०८४ सम्ममा झन् कति धेरै लोकप्रिय हुन्छ भन्ने चिन्ताले सत्ता गठवन्धन आत्तिएको छ । त्यसैले आजकाल कांग्रेसका कथित क्रान्तिकारी नेताहरु गगन, विश्वप्रकाश र धनराजहरु माओवादीको पिछलग्गू भएका छन् । गगन, विश्वप्रकाश र धनराजहरुले माओवादी अध्यक्ष प्रचण्डको खुलेआम चाकडी गरिरहेका छन् । प्रचण्डको कुशासनका विरुद्ध उनीहरु चुईंक्क बोल्न सक्दैनन् । बरु, एमाले विरुद्ध घेरावन्दी गर्ने रणनीतिलाई समर्थन गरिरहेका छन् ।

राष्ट्रिय सभामा सत्ता गठवन्धन बीच सहमति हुने अवस्था नै थिएन । एमालेको संकल्प यात्रा र त्यसले जनतामा पारेको प्रभावको परिणाम हो एमाले विरुद्ध फेरि सबै एक हुनु । राष्ट्रिय सभामा गणितीय खेल हुन्छ । मतदाता कोको हुने भन्ने निश्चित हुन्छ र मत परिणाम पनि निश्चित जस्तै हुन्छ । राष्ट्रिय सभामा आम जनताले मत हाल्दैनन् । सीमित मतदाताले मत हाल्ने चुनावमा एमाले विरुद्ध घेरावन्दी गरे पनि आम जनता बीच हुने चुनावमा अब घेरावन्दीले अर्थ राख्दैन भन्ने सन्देश संकल्प यात्राले दिएको छ ।

संकल्प यात्रापछि नेपाली राजनीतिले कोल्टे फेरेको छ । यो यात्रालाई माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिए हुन्छ । किनभने संकल्प यात्रापछि मुख्य गरी अस्थिरतावादी शक्तिहरु र कांग्रेस तर्सिएको छ । एमालेसँग कांग्रेस तर्सनाले माओवादीको कांग्रेससँगको वार्गेनिङ शक्ति बढेको छ ।

संकल्प यात्रा अघिसम्म राजावादीहरुको जगजगी थियो । अहिले नै राजतन्त्र फर्काइहाल्छौं भने झैं गरिरहेका थिए । तर, संकल्प यात्राले एमालेको साथमा जनता गोलवद्ध छन् भन्ने प्रष्ट पार्यो । त्यसपछि राजावादीहरु निस्तेज भएका छन् ।

आगामी दिनमा एमालेले संकल्प यात्रा जस्तो अभियान अरु पनि चलाउँदै छ । मिसन ग्रासरुटपछि एमालेले आफूलाई आन्तरिक रुपमा पनि सुदृढ बनाउँदै ल्याएको छ भने आम जनता बीच पनि झन् विश्वाशिलो रुपमा स्थापित गर्दै आएको छ । विकास, निर्माण, समृद्धि र सुशासन एमालेबाट मात्र सम्भव छ भन्ने जनताले फेरि पनि बुझे । विगतमा एमालेले सरकार चलाएको समय र अहिलेको कुसमय जनताले तुलना गरिरहेका छन् । सरकारको खुट्टा कति लुलो छ भन्ने प्रष्ट भएको छ भने एमालेको खुट्टा कति बलियो छ भन्ने पनि स्पष्ट भएको छ ।

आगामी दिनमा एमाले विरुद्ध प्रहार र दुष्प्रचार झन् कडा हुने देखिन्छ भने एमाले विरुद्ध घेरावन्दी पनि झन् तिब्र हुने देखिन्छ । यो अवस्थामा एमालेले समय र परिस्थिति हेरेर सटिक कार्यनीति अपनाउनुपर्ने हुन्छ । यो काममा अध्यक्ष केपी ओली तथा एमालेको नेतृत्व पंक्ति सक्षम छ भनेर आशा गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !