६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : महासचिव शंकर पोखरेल

प्रकाशित मिति :  २५ बैशाख २०८१, मंगलवार ०८:५३


ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोरखेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । उहाँले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताउनुभयो ।

मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे । ‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरु आफैँले पनि संगठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ,’ उनले भने, ‘मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’

जसपाका सांसदहरूको विद्रोहलाई उहाँले विधिसम्मत र स्वभाविक भएको टिप्पणी गर्नुभयो । ‘जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ । यो सकारात्मक पहल हो,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत ढंगबाटै अघि बढ्नुपर्छ । त्यसकारण अहिले जे भयो, त्यो कानूनीरुपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।’

उहाँले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन–०८४ को अभियान चलाएको बताए । ‘जब राजनीतिक दलहरू धेरै हुन्छन्, कमजोर हुन्छन्, त्यसबेला बाह्य शक्तिहरुको हस्तक्षेप बढ्ने रहेछ,’ उनले भने, ‘त्यसकारण हामी नेकपा एमालेलाई यो देशको ठूलो शक्ति, बलियो शक्ति बनाएर देशलाई निकास र विकास दिन चाहान्छौँ । त्यसैकालागि पार्टीले मिसन ०८४ लाई एउटा अभियानकोरुपमा अघि बढाएको छ ।’

उहाँले अहिले एमालेले भागबण्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन–०८४ मा ध्यान लगाएको बताए । ‘हामीले भागबण्डाको राजनीतिलाई महत्वपूर्ण विषय ठानेका छैनौँ । हामी मिसन ०८४ मा छौँ । त्यहीकारण अहिले एमालेले सरकारमा महत्वपूर्ण मन्त्रालय बुझ्ने भन्दा पनि सरकारलाई निरन्तर चलाउने हिसावले अघि बढेका छौँ,’ उहाँको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !