१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस

प्रकाशित मिति :  ४ पुष २०८०, बुधबार ०६:५०


बाँके । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो ।

मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मङ्गलबार तीन सय सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जानकारी दिनुभयो । उहाँले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा स्टिकर टाँस गरिएको बताउनुभयो ।

‘राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसेका हौँ’, प्रवक्ता डाँगीले भन्नुभयो । उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता रहेको थियो ।
–रासस



प्रतिक्रिया दिनुहोस !