२५ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संवेदनशिल र शान्त बस्नेत, अराजक प्रसाईं

प्रकाशित मिति :  ७ मंसिर २०८०, बिहीबार १७:०७


काठमाडाैं । नेकपा एमालेकाे युवा-विद्यार्थी विशेष कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ ।

कार्यक्रमकाे अगुवाइ गर्नुभएका एमाले नेता तथा युवा संघका इञ्चार्ज महेश बस्नेतले केही दिन अघिदेखि नै उद्घाेष गर्नुभएकाे थियाे – हाम्राे कार्यक्रम शान्तिपूर्ण हुन्छ, हाम्रा गतिविधि कहिल्यै पनि हिंसात्मक हुँदैनन्, हुन सक्दैनन्, तर हामीलाई निर्वाध रुपमा कार्यक्रम गर्न दिनुपर्छ ।

‘हाम्रा युवा-विद्यार्थीहरु ठाउँठाउँबाट र्‍याली र जुलुससहित आएपनि युद्ध गर्न हाेइन, सरकारले गरेको गलत कामको विरुद्धमा आवाज उठाउन आएका हुन्’- नेता बस्नेतकाे भनाइ थियाे ।

नेता बस्नेतले भनेजस्तै गरी युवा संघ र अनेरास्ववियुले आयाेजना गरेकाे कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ । एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियुकाे आयाेजनामा आज काठमाडाैंकाे तिनकुनेमा भएकाे प्रदर्शनसहितकाे विशेष कार्यक्रम सानदार ढंगले सम्पन्न भयाे । कार्यक्रममा एमालेका अरु जनवर्गीय संगठन र एमालेकै नेता पनि सहभागी भएका थिए ।

पूर्व याेजना अनुसार एमालेका युवा-विद्यार्थीले तिनकुनेकाे कार्यक्रमअघि काठमाडाैं उपत्यकाका विभिन्न चाेकबाट र्‍याली निकालेका थिए । युवा-विद्यार्थीकाे एउटा समूह कालीमाटी र कीर्तिपुरबाट तिनकुने जाने क्रममा बल्खु पुग्दा दुर्गा प्रसाईंकाे समूहले ढुंगामुढा गर्‍याे । दुर्गा प्रसाईंकाे समूहकाे प्रदर्शनका लागि बल्खु क्षेत्र तय गरिएकाे थियाे ।

आफूमाथि ढुंगामुढा हुँदा पनि युवा संघका नेता कार्यकर्ता संयमित भए । उत्तेजक नारा र अराजक गतिविधि गरिरहेकाे प्रसाईंकाे समूहले युवा संघ माथि मात्र हाेइन प्रहरीमाथि पनि ढुंगामुढा गर्‍याे । निषेधित क्षेत्र ताेड्न लागेपछि प्रहरीले राेक्न खाेज्दा साे समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेकाे थियाे । जसका कारण केहीबेर झडप समेत भएकाे थियाे । साे झडपमा प्रहरीसहित २८ जना घाइते भएका छन् ।

गणतन्त्र विरुद्ध धावा बाेल्न विभिन्न जिल्लाबाट मानिस भेला गरेकाे प्रसाईंकाे समूहले दिनभर जसाे अराजक गतिविधि गर्‍याे । पूर्व निर्धारित कार्यक्रम अनुसार काेणसभा पनि गर्न सकेन ।

संवेदनशिल र शान्त बस्नेत, अराजक प्रसाईं

महेश बस्नेतसँग दुर्गा प्रसाईंकाे तुलनै हुन सक्दैन । परिवर्तनका लागि निरन्तर लड्दै आउनुभएका बस्नेत र लहड तथा सनकाे भरमा चल्ने प्रसाईंबीच तुलना हुने पनि कुरै भएन ।

बस्नेतकाे शान्त र संवेदनशील स्वभाव र प्रसाईंकाे अराजक शैली आजकाे कार्यक्रममा पनि देखियाे ।

एमालेका युवा-विद्यार्थीले सरकारकाे बेथिति र परिवर्तन गुम्न नदिने नारा लगाए । गणतन्त्रमाथि धावा नबाेल्न चेतावनी दिए । तर प्रसाईंकाे समूहले गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा उत्तेजक नाराबाजी गरे ।

एमालेका युवा- विद्यार्थीकाे कार्यक्रममा गणतन्त्र ल्याउनका लागि लडेका र वास्तविक परिवर्तनका पहरेदार थिए । सबैकाे एउटै उद्देश्य थियाे परिवर्तनकाे रक्षा गर्ने र सरकारका गलत कामकारबाही राेक्ने ।

तर प्रसाईंकाे कार्यक्रममा केही नगन्य राजावादी थिए । अरु भने विभिन्न प्रलाेभन ल्याइएका सर्वसाधारण थिए । केही बैंक, लघुवित्त र सहकारीबाट लिएको ऋण मिनाहा हुने भन्दै आएका सर्वसाधारण थिए । केही माठमाडाैं देख्न आएका मानिस पनि थिए । १० थरी उद्देश्य बाेकेका मानिस प्रसाईंकाे समूहमा थिए । भीडकाे त कुनै नगराैं पूरै अस्तव्यस्त । बाेल्नका लागि पनि तछाडमछाड ।

तिनकुनेमा करिब ५० हजारको हाराहारीमा युवा विद्यार्थीको कार्यक्रमलाई साथ दिन मानिसहरु आएका थिए । प्रसाईंकाेमा करिब १५०० जति मानिस आएका थिए ।

५० हजार मानिस भएको ठाँउमा केही पनि उच्छृंखल गतिविधि नहुने तर १५०० मानिस भएको ठाउँमा प्रहरी समेत घाइते हुने । यसले पनि प्रष्ट पार्‍याे कि प्रसाईंकाे समूह अराजक समूह हाे ।

अहिलेका नेताहरुले देश विगारे । बैंकहरुले निम्न स्तरका जनतालाई मारमा पारे । नेताहरुले देश वेचे । माडवारीलाई देशमा रजाई गर्न दिए । नेपालीलाई मारे । अस्थिरता मच्याए । अब राजा आउनुपर्छ । राजाले मात्र देशको भलो गर्छ । अनि देश शान्त हुन्छ भन्दै बेसुरले कराउने दुर्गा प्रसाईकै कार्यक्रममा ढुंगा मुढा भयाे ।

लहडका भरमा चल्न र छिनभरमै रंग फेर्न माहिर प्रसाईंले नेपालीहरुलाई भेडा बनाएका छन् भन्ने कुरा उहाँका पछिल्ला गतिविधिले नै पुष्टि हुन्छ ।

अर्काेतर्फ तिनकुनेमा थामिनसक्नु भिडलाई कसरी नियन्त्रण गर्छन् हाेला भन्ने धेरैकाे अनुमान थियाे । तर एमालेका युवा विद्यार्थीले उत्कृष्ट व्यवस्थापनसहित विशाल प्रदर्शन र काेणसभा गरेर कार्यक्रम सम्पन्न गरे ।

प्रसाईंकाे कार्यक्रम भने धेरैले अनुमान गरेजस्तै अराजक र अशान्त नै रह्याे । अराजक मानिसले जम्मा गरेकाे भिड शान्त हुने कुरा पनि आउँदैन सायद ।

प्रसाईंकाे अराजक भीडलाई राप्रपाकाे एउटा समूहले पनि साथ दियाे ।



प्रतिक्रिया दिनुहोस !