२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्यू टावर र औद्योगिक पार्क बन्दा भारतको सुरक्षा खतरामा पर्छ र ?

प्रकाशित मिति :  २५ भाद्र २०८०, सोमबार १२:४४


-मिलन बस्नेत-

भारतलाई चिरिक्क चिमोट्दा भारतले थाहा नपाउन सक्छ, तर नेपालमा आइया भन्ने भारत भक्तहरु छन् ।

मस्कोमा पानी पर्दा काठमाडौंमा छाता ओढ्थे रे । बेइजिङमा गर्मी हुँदा काठमाडौंमा पंखा चलाउँथे रे । त्यसबेला मस्कोपन्थी र बेइजिङ पन्थी भनेर नेपाली कम्युनिष्ट चिनिन्थे, त्यही भएकाले सोभियत संघलाई ज्वरो आउँदा नेपाली कम्युनिष्ट सिकिस्त हुन्थे, चीनलाई पखाला लाग्दा नेपाली कम्युनिष्ट शौचालय जान्थे ।

आजकाल नेपाली कम्युनिष्ट त्यस्ता छैनन्, इतिहास भयो यो कुरा ।

भारतले नाकावन्दी लगाउँदा भारतले नाकावन्दी गरेकै छैन, हामीले दसगजामा बसेर नाकावन्दी लगाएका हौं भन्थे दमन ढुंगाना, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका मनुवाहरु । हुट्टिट्याउँले आकाश थामेको छु भन्छ रे, यिनले पनि आकाश थामे झैं कुरा गर्थे ।

अहिले नेपालमा एकथरी मानिस यस्ता छन् जसलाई नेपालको चिन्ता लाग्दैन । भारतको मात्र चिन्ता लाग्छ । भारतको चिन्ताले ती मनुवाहरु निदाउन सक्दैनन् । भारत आफैंलाई र भारतीयहरुलाई आफ्नो त्यति चिन्ता लाग्दैन होला जति यी मनुवाहरुलाई चिन्ता लाग्छ ।

सुवेदी थरका एक मनुवाले भारतको चिन्ता गर्दै निरन्तर भिडियो ब्लग बनाउँछन् । शेरबहादुर देउवाको किचेन क्याबिनेटसम्म पुग्न सफल ती मनुवाले भारतको चिन्ता गरेको देख्दा यस्तो लाग्छ, भारतको चिन्ताले नै यिनको प्राण जाने भयो । भारतलाई केही राम्रो भयो भने यिनको खुसीको सीमा रहँदैन ।

अर्का छन् आचार्य थरका । कांग्रेसी विष्लेशक भनेर चिनिन्छन् । अग्लो कदका यिनको कोइराला परिवारसँग पनि राम्रै नाता पर्छ । शेखर कोइरालाको पछि लागेका छन् । यिनले नजानेको केही छैन । यिनले चाहिँ आफैं भिडियो ब्लग बनाउँदैनन्, अन्र्तवार्ता दिन्छन् । घुमाई फिराई भारतको चिन्ता गर्छन् ।

यी सुवेदी र आचार्य तथा नेपालमा रहेका भारत भक्तहरुलाई नेपालको भलाई के गर्दा हुन्छ भन्ने मतलब छैन, भारतको भलाई नै यिनको मुख्य चिन्ता हो । खासगरी यी सुवेदीको भारतभक्ति देख्दा त लाज पनि लजाउँछ ।

नेपालमा रहेको भारत भक्तहरु भारतको भलो हुन्छ भने नेपाली जनताको गला रेट्न पनि पछि पर्दैनन् । हाम्रो झापामा एउटा औद्योगिक पार्क बन्दैछ । दमकमा बन्न लागेको औद्योगिक पार्कले हाम्रो झापाको भाग्य र भविष्य बदल्न सक्छ । तर, यी भारत भक्तहरुको चिन्ता भने अर्कै छ ।

झापाको दमकमा बन्न लागेको औद्योगिक पार्क चीनको सहयोगमा बन्न लागेको हो । चीनको सहयोगमा झापामा औद्योगिक पार्क बन्दा भारतको सुरक्षा खतरामा पर्छ अरे । भारतको सुरक्षामा खतरा पर्ने चिन्ता भारत आफैंले व्यक्त गरेको छैन तर यहाँका भारतभक्तहरु भारतको सुरक्षामा खतरा पर्न लाग्यो भनेर भुकेको भुक्यै छन् ।

बरु कात्तिकमा कुकर त्यति भुक्दैन होला जति भारतको सुरक्षा खतरामा पर्न लाग्यो भन्दै यी भुकिरहेका छन् ।

खासमा कुरा के अरे भने झापाको सीमा भारतसँग जोडिन्छ । भारतको सीमा जोडिने जिल्लामा चीनले विकास निर्माणको काम गर्न हुँदैन अरे । यी लालबुझक्कडहरुले भारतमा जताततै चीनले लगानी गरेको, विकास निर्माणको काम गरेको देखेका छैनन् ? अन्यत्रको के कुरा ? भारतको राजधानी दिल्लीमै चीनले उद्योग व्यापारदेखि यावत क्षेत्रमा लगानी गरेको छ । भारतको मुटुमै चीनले लगानी गर्दा भारतको सुरक्षा खतरामा नपर्ने तर नेपालको झापा जिल्लामा लगानी गर्दा खतरामा पर्ने ? यो कस्तो खालको सुरक्षा हो ?

बास्तवमा यसलाई ठेट नेपालीमा भन्न पर्दा जाँतोलाई भन्दा हातोलाई खसखस भन्न सकिन्छ । रमाइलो त त्यतिबेला देखियो जतिबेला केही झापाली नेताहरु भारतको सुरक्षाको चिन्ता गर्दै काठमाडौं आए । औद्योगिक पार्क बन्ने क्षेत्रका होचोहोचो कदका पुरी थरका एक नेता, राजा महेन्द्रको नामसँग मिल्दोजुल्दो सुब्बा थरकी नेतृ सहित कांग्रेस र माओवादीका केही नेतानेतृहरु ग्रुप बनाए केही समय पहिले राजधानी आए । उनीहरु आउनुको काम थियो औद्योगिक पार्क ।

आफ्नो ठाउँमा चाँडो औद्योगिक पार्क बनाउनुपर्छ भन्ने माग बोकेर उनीहरु आएका हुन् भन्ने तपाईंले अनुमान गर्नुभयो भने गलत गर्नुभयो । उनीहरु औद्योगिक पार्क बनाउन हुँदैन भन्दै आएका थिए । प्रचण्डदेखि विभिन्न मन्त्रीलाई भेटेर औद्योगिक पार्क बनाउन हुँदैन भन्दै कुतर्क गरे । काठमाडौंमा रहेका भारतका आधिकारिक प्रतिनिधिसँग डिनर खाए । आद्योगिक पार्क बनाउँदा भारतको सुरक्षा खतरामा पर्छ भन्ने उनीहरुको भनाई थियो । नेपालको विकास गर्दा भारतको सुरक्षा खतरामा पर्छ, त्यसैले नेपालको विकास गर्न हुँदैन भन्ने उनीहरुको माग सुनेपछि यो लेखनीको सुरुमा किन मस्कोमा पानी परेको र बेइजिङमा घाम लागेको प्रसंग उल्लेख गरिएको हो भन्ने तपाईंहरुले पक्कै बुझ्नुभयो होला ।

अहिले गाइजात्राको याम छ, व्यंग्य र प्रहसनका अनेक लीलाहरु सार्वजनिक भइरहेका छन् । तर, यहाँ जेजे उल्लेख गरिँदैछ त्यो गाईजात्राका अवसरमा सार्वजनिक लीला भन्दा कम छैन । अर्काे प्रसंग भ्यू टावरको हो । जहाँ औद्योगिक पार्क बन्दैछ, त्यही ठाउँमा दमक भ्यू टावर पनि बनिरहेको छ । दमक भ्यू टावर भनेको आजकाल पहाडमा जताततै डाँडाको टुप्पोमा बनाइएको कथित भ्यू टावर जस्तो होइन । दमक भ्यूटावर भनेको नेपालको सबैभन्दा अग्लो भवन हो । अर्काे शब्दमा भन्ने हो भने मलेसियाको पेट्रोनास टावर या दुबईको बुर्ज अल खलिफा जस्तै हो दमक भ्यू टावर । वास्तवमा दमक भ्यू टावर नेपालको नमूना कर्पाेरेट बिल्डिङ हो ।

जसरी औद्योगिक पार्क बन्दा भारतको सुरक्षामा खतरा हुन्छ, त्यसरी नै दमकमा भ्यु टावर बनाउँदा पनि भारतको सुरक्षा खतरामा पर्छ अरे । यो खतरा भारतले देखेको होइन, यहाँका भारत भक्तहरुले देखेको हो । मान्नैपर्छ नेपालका भारत भक्तहरुलाई । भारतले नदेखेको सुरक्षा खतरा काठमाडौं र झापाको गाउँमा बसेर भारत भक्तहरुले देख्छन् । नेपालमा रहेका भारत भक्तहरुको आँखाको शक्तिलाई मान्नैपर्छ ।

दमक भ्यू टावरबाट भारत देखिन्छ रे । चिनियाँहरु नेपाल आउँछन्, भ्यू टावर पुग्छन् अनि भारत देख्छन् रे । दमक आएर अग्लो भवनबाट चिनियाँले भारत देख्दा भारतको सुरक्षामा डरलाग्दो खतरा आउँछ रे । नेपाल आउने चिनियाँको आँखामा एटम बम या हाइपरसोनिक मिसाइल फिट गरिएको हुन्छ भने झैं गर्छन् नेपालमा रहेका भारत भक्तहरु । भ्युटावरको टुप्पाबाट चिनियाँले भारतमा मिसाइल हान्छन् रे, त्यसैले भारतको सुरक्षामा खतरा हुन्छ भनेर यहाँका भारत भक्तहरु भ्यु टावर र औद्योगिक पार्कको विरोध गरिरहेका छन् ।

यी लालबुझक्कडहरुका अनुसार झापाको पारी सिलिगुडी छ । सिलिगुडी भनेको भारतको चिकेन नेक एरिया हो । भारतको चिकेन नेक भारतका लागि सुरक्षाको संवेदनशील ठाउँ हो । त्यो ठाउँसँग जोडिएको नेपालको झापा जिल्लामा विकास निर्माण भयो भने भारतको सुरक्षामा ठूलो खतरा हुन्छ रे । झन् सिलिगुडीको एअरपोर्ट पनि भ्युटावरबाट देखिन्छ रे । त्यसैले खतरा हुन्छ रे । वाफ रे, कस्तो लजिक हो ? कस्तो तर्क हो ? वास्तवमा यो तर्क होइन कुतर्क हो । यति घिनलाग्दो कुतर्क गर्न कस्तो प्रकारको खाद्य पदार्थ खानुपर्छ होला ?

झापाबाट पारिपट्टि भारत तर्फ दमक भ्युटावरभन्दा अग्ला बिल्डिङ सयौं छन्, ती बिल्डिङबाट नेपाललाई खतरा नहुने तर नेपालमा बिल्डिङ ठडिँदा भारतललाई खतरा हुने । सिलिगुडी माथिल्लो भागमा इलाम तर्फ भ्युटावरभन्दा दर्जनौं गुना अग्लो पहाड छ, ती पहाडबाट पूरै सिलिगुडी छ्याङग देखिन्छ । अब त्यो पहाडमा मान्छे बस्न र पर्यटक जान प्रतिवन्ध लगाउनुपर्छ भनेर भारत भक्तहरुले भनिसकेका छैनन् तर भन्न बेर छैन । भारतभक्तहरुको कुतर्कको कुनै सीमा छैन ।

चीनले भारतलाई हान्नै चाह्यो भने झापा गएर हानिरहनुपर्छ र ? चीनले भारतको भूमि हेर्न पर्यो भने दमकको भ्यू टावर चढिरहन पर्छ र ? भारतमा वर्षेनी लाखौं चिनियाँ जान्छन् भन्ने नेपालका भारत भक्तहरुलाई थाहा नभएको त पक्कै होइन । भारतमा चिनियाँहरु पर्यटक बनेर पनि जान्छन्, लगानी गर्न पनि जान्छन्, भारतमा चिनियाँहरुले खर्बौं रुपैयाँ लगानी गरेका छन् । चिनियाँले भारतमा लगानी गर्दा चाहिँ भारतको सुरक्षामा खतरा नहुने तर चिनियाँले नेपाल आएर लगानी गर्दा चाहिँ भारतको सुरक्षामा खतरा हुने ? यो कस्तो तर्क हो ? कस्तो कुतर्क हो ? आफ्नै देशको विकास निर्माण विरुद्ध यति घिनलाग्दो कुतर्क गर्ने मानिस विश्वमा नेपाल बाहेक अन्त पक्कै छैन होलान् ।

भारत भक्तहरुले बुझुन्, नरेन्द्र मोदीको गुजरात राज्यको विकास चिनियाँ लगानीमा भएको हो ।

नेपालका भारतभक्तहरुले भारतको जति भक्ति गाउँछन्, त्यति भक्ति त भारतीय स्वंयले आफ्नो देशको गर्दैनन् होला ।

यति कुरा वयान गरिसकेपछि हाम्रो झापामा भ्यु टावर र औद्योगिक पार्क बनाउन हुन्छ जस्तो लाग्यो कि हुँदैन जस्तो लाग्यो ? पाठक, स्रोता तथा दर्शकहरुले कृपया प्रतिक्रिया दिनुहोला ।



प्रतिक्रिया दिनुहोस !