६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भाटभटेनीका मिनबहादुर, राणा ब्रदर्श र मारवाडीहरुका रोचक कुरा

प्रकाशित मिति :  ३० असार २०८०, शनिबार १३:१६


काठमाडौं । रुक्म शमशेर राणा एण्ड ब्रदर्श अहिले कहाँ छन् ? गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनौपचारिक कुराकानीमा पनि नाम लिँदैनन् । नेपाल प्रहरीले पनि ती राणा खलकको चुईंक्क उच्चारण गर्दैन ।

रुक्म शमशेर एण्ड ब्रदर्शको नाम अहिले कसैले उच्चारण गर्नुपर्छ भने ती गृहमन्त्री नारायणकाजी हुन् । किनभने ललिता निवास जग्गा लुट काण्डका नाइके यिनै राणा ब्रदर्श हुन् । लुटिएको जग्गा यिनै राणा ब्रदर्शको नाममा आएको थियो । राणा ब्रदर्शले नै पछि अरुलाई बेचेका हुन् । लुटिएको जग्गा जसको नाममा आयो उसलाई केही नहुने, त्यो जग्गा किन्नेहरुले चाहिँ फस्नुपर्ने मत्स्य न्याय अहिले प्रचण्ड र नारायणकाजीहरुले लगाइरहेका छन् ।

भिम शमशेरका सन्तान राणा ब्रदर्श नै हुन् ललिता निवास जग्गा लुट काण्डका असली सूत्रधार । तर, ललिता निवास काण्डमा केके नै बहादुरी गरे जसरी पाखुरा सुर्किएर फुर्ति लाउने नारायणकाजीले राणा ब्रदर्शको गर्दनमा हात लम्काउने लक्षण नै देखिएन ।

बरु, राणा ब्रदर्शले जग्गा लुटेपछि विभिन्न व्यक्तिले किने, त्यसरी किन्नेहरुलाई पक्रेर नारायणकाजीले बहादुरी देखाइरहेका छन् ।

पक्राउ पर्नेमध्ये एकजना हुन् भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मिनबहादुर गुरुङ । नेपालको सर्वाधिक चर्चित र आम जनातासँग सबैभन्दा धेरै जोडिएको व्यापारिक साम्राज्य हो भाटभटेनी । राणा खलकले लुटेको जग्गा मिनबहादुरले किनेको प्रमाणित भइसकेको छ । यसलाई मिनबहादुरले पनि अस्वीकार गरेका छैनन् । जग्गा किनेकै कारणले मिनबहादुर पक्राउ परेको प्रष्ट छ । तर, जग्गा किन्दा पक्राउ पर्नुपर्ने हो त ? यस्तो प्रश्न उठिरहेको छ ।

मिनबहादुरको गिरफ्तारीलाई लिएर अनेक चर्चा छ ।

प्रचण्डले लुटेको सम्पत्ति मिनबहादुरसँग ?

माओवादीका पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले जनयुद्धका बेला लुटेको सम्पत्ति मिनबहादुरले स्याहारेको चर्चा व्यापक रुपमा भइरहन्छ । मिनबहादुर र प्रचण्ड बीच लेनदेन नमिलेको चर्चा पनि भइरहन्छ । माओवादीले लुटेको सम्पत्तिको जगमा भाटभटेनीको विशाल साम्राज्य खडा भएको भन्नेहरु पनि सर्वत्र भेटिन्छन् । तर, यसको वास्तविकता कि प्रचण्डलाई थाहा होला, कि मिनबहादुरलाई थाहा होला ।

लेनदेन नमिलेको हुनाले ललिता निवास काण्डमा मिनबहादुरलाई प्रचण्ड र नारायणकाजीले फसाएको भन्नेहरुको अहिले कमि छैन । यो चर्चालाई मिनबहादुर निकटहरुले भने पुष्टि गदैनन् । मिनबहादुर निकटहरुका अनुसार प्रचण्डले जनयुद्धकालमा लुटेको सम्पत्तिको ठूलो हिस्सा विदेशमै छ, सानोतिनो रकम स्याहार्न मिनबहादुरले पाएका थिए । तर, प्रचण्डले दिएको भन्दा कैयन गुणा धेरै रकम मिनबहादुरले बुझाइसकेको चर्चा पनि काठमाडौंको गल्लीमा जताततै सुनिन्छ । तर, यस्ता बजार हल्लाले अदालती मुद्दामा अर्थ राख्दैन । मिनबहादुर र भाटभटेनी असाध्यै चर्चित भएकाले बजारमा व्यापक रहेको हल्ला यहाँ उल्लेख गरिएको मात्र हो ।

प्रचण्डले जनयुद्धकालमा लुटेको धनसम्पत्ति मिनबहादुरले स्याहारेका हुन् कि होइनन् भन्ने कतैबाट पुष्टि हुन सकेको छैन । पुष्टि नभएको कुरालाई लिएर यही कारण मिनबहादुरलाई फसाइएको भन्न मिल्दैन । यद्यपी, प्रचण्डले जनयुद्धका बेला लुटेको सम्पत्ति कहाँ गयो भन्ने प्रश्न र ललिता निवास लुटमा राणा ब्रदर्शलाई किन छुइएन भन्ने दुवै प्रश्न अनुत्तरित छ ।

फस्ने मिनबहादुर, आत्तिने अरु नै

काठमाडौंको भाटभटेनी मन्दिर अगाडिको एउटा सानो किराना पसल आज विशाल भाटभटेनी साम्राज्य बनेको छ । यो साम्राज्य खडा गरेका हुन् मिनबहादुरले । मिनबहादुरको थरमा ध्यान दिउँ– गुरुङ । मिनबहादुरको थरलाई यहाँ किन जोड दिइएको हो भन्ने तल चर्चा हुँदै जानेछ ।

नेपालका खास किसिमका निकाय तथा खास विरादरीका मानिसहरुले भाटभटेनी र मिनबहादुरलाई सदाबहार रुपमा एउटा आरोप लगाउँथे । त्यो आरोप हो चिनियाँ सामानलाई प्राथमिकता दिएर भारतीय सामानलाई बेवास्ता गरेको ।

भाटभटेनीले चिनियाँ सामानलाई प्राथमिकता दिनुका साथै नेपाली उत्पादनलाई पनि उत्तिकै प्राथमिकता दिएको देखिन्छ । नेपालमा विदेशी सामानको आयातकर्ता, खासगरी दैनिक उपभोग्य वस्तुको आयातकर्तामा विशाल ग्रुपको नाम अग्रपंक्तिमा आउँछ । सिएमजी अर्थात् कन्ज्युमर गुड्समा विशाल ग्रुपले साम्राज्य नै बनाएको छ । बिशाल ग्रुपका मालिक अग्रवाल ब्रदर्शहरुसँग मिनबहादुर र भाटभटेनीको ठूलो टकराव भएको बताइन्छ ।

चर्चा न हो, कसले कसको मुख थुन्न सक्छ र । अर्काे एक चर्चा अनुसार नेपालमा मारवाडी समुदायलाई टक्कर दिने एकमात्र व्यापारी मिनबहादुर हुन् भन्ने चर्चा व्यापक छ । मारवाडी आयातकर्तालाई प्राथमिकता नदिने, उनीहरुले आयात गरेको सामनालाई बढावा नदिने भन्ने आरोप पनि मिनबहादुरलाई लाग्ने गरेको थियो । नेपालको यावत क्षेत्रमा मारवाडी व्यवसायीहरुको एकाधिकार छ तर सिएमजी अर्थात् कन्ज्युमर गुड्स आइटमको व्यापारमा भाटभटेनीको साम्राज्य विस्तार हुँदै गएकाले मिनबहादुरलाई ललिता निवासमा फसाइएको भनेर चर्चा गर्नेहरुको पनि मुख थुन्न सकिँदैन ।
नेपालमा गैर मारवाडीले उद्योग व्यापारमा मारवाडीलाई उछिन्न नपाइने हो ? एक चर्चित उद्योगपतिले यो पंक्तिकारसँग भने । उनको भनाईको भित्री अर्थ उनैले जानुन् तर उनको अर्काे टिप्पणी भने झन बुझिनसक्नु खालको छ । उनको टिप्पणी यस्तो छ– ‘मिनबहादुरको थर गुरुङ नभएर अग्रवाल, चौधरी, महतो, केडिया, गोल्छा, खेतान, दुगड थियो भने मिनबहादुर फस्दैनथे ।’
उनले अर्काे पनि रोचक जानकारी दिए । त्यो जानकारी हो, भाटभटेनीले वाईवाई बेच्दैन । वाईवाई विनोद चौधरीको हो । ती उद्योगपतिको टिप्पणीपछि यो पंक्तिकार भाटभटेनीको दुईटा स्टोरमा गयो । दुवैमा वाईवाई थिएन । त्यहाँका कर्मचारीले भाटभटेनीमा वाईवाई नबेचिने जानकारी दिँदा अचम्म लाग्यो ।
सत्ता साम्राज्यका शक्तिशाली नेता, प्रचण्ड र देउवाका खास मानिस, भारतका मोदीसँग पनि उत्तिकै निकट विनोद चौधरीको उत्पादन वाईवाई नबेच्ने हिम्मत मिनबहादुरले किन गरेका होलान् ? अहिलेसम्म बुझ्न सकिएको छैन । अनि, यस्तो हिम्मतकै कारण खोरमा परेका हुन् त ? यो पनि बुझ्न सकिएन ।
रोचक कुरा भन्दै यहाँ एकदुईवटा रोचक कुरा उल्लेख गरियो । अब ती उद्योगपतिको अर्काे रोचक भनाई पनि थाहा पाउनुस् । त्यो कुरा के भने मिनबहादुर जसरी पनि पक्राउ पर्थे, जसरी पनि फस्थे, जसरी पनि डुब्थे । ललिता निवास काण्डमा नफसाइएको भए अर्काे कुनै काण्ड रचना गरेर मिनबहादुरलाई फसाइन्थ्यो । यति अचम्मको कुरा सुनाइसकेपछि ती उद्योगपतिले निष्कर्ष सुनाए– ‘भाटभटेनीको बहुमत शेयर मारवाडी या भारतले चाहेको व्यक्तिलाई नसुम्पिए सम्म मिनबहादुर यसरी नै फसिरहनेछन् ।’

प्रचण्ड र नारायणकाजीहरुले मिनबहादुरलाई पक्राउ गर्नुलाई ठूलो बहादुरी जसरी प्रचार गरिरहेको छ । प्रचण्ड भारत भ्रमणबाट फर्कनासाथ मिनबहादुर पक्राउ पर्नुलाई गैर मारवाडी उद्योगी व्यापारीहरुले अनौठो मानिरहेका छन् । यही मेसोमा अर्काे कुरा पनि उल्लेख गरौं । राणा ब्रदर्शका मुखिया रुक्म शमशेर राणा भारतीय बहुराष्ट्रिय कम्पनी डाबरका नेपाली लगानीकर्ता हुन् । भारतीय डाबरको हर्ताकर्ता भएकैले रुक्मशमशेरलाई ललिता निवास काण्डमा नसमातिएको भन्ने चर्चालाई बजार हल्ला मात्र मान्न सकिन्न ।

मीनबहादुर पक्राउ पर्नुमा भारतको ठूलो हात छ भनेर चोकचोकमा चिया खाँदै चर्चा गर्नेहरुको न चिया पोखाइदिन मिल्छ, न जिब्रो थुत्न मिल्छ ।

नेपालमा भारतीय मूलका व्यापारीको साम्राज्य बनोस्, नेपाली मूलका मानिसहरु दरबानमै सीमित बनुन् भन्ने भारतीय चाहना जगजाहेर छ । यही भारतीय चाहनाको तुष्टिकरणका लागि मिनबहादुरलाई बलि चढाइएको त होइन ? यस्तो प्रश्न गर्नेहरुलाई प्रचण्ड र नारायणकाजीहरुले के गर्छन् होला ?

मिनबहादुर पक्राउ पर्दा नेपाली मूलका व्यापारी उद्योगीहरु तर्सने र मारवाडी समुदायका उद्योगी व्यापारीहरु दंग पर्ने कारण के होला ? यो पनि बुझ्न सकिएको छैन ।



प्रतिक्रिया दिनुहोस !