२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुपर्छ : पूर्व राजा

प्रकाशित मिति :  ७ फाल्गुन २०७९, आईतवार ०८:२७


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल निरन्तर अधोगतितिर गइरहेको बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व राजा शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने उल्लेख गर्नुभएको छ ।
‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो, शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छाडेर पनि गएनौं, तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं’– उहाँले उल्लेख गर्नुभएको छ ।

पूर्व राजा शाहले देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा चिरा पर्न थालेको उल्लेख गर्नुभएको छ । देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्थाबीच आपसी विश्वाससाथ सहकार्यका लागि विलम्ब गर्न नहुने समेत शाहले उल्लेख गर्नुभएको छ ।

राज्य सत्ताको बागडोर ज–जसका हातमा दोहोरिदै तेहरिदै आएपनि वा फेरिदै बदलिदै गए पनि विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन नसकेको उहाँको ठहर छ ।

’देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन्, तिनका धेरै कार्यकर्ताहरूमा राजनीतिक छत्रछायाँ नभई जीवनमा केही गर्न सकिन्न भन्ने मनोभाव विकसित गरिएको छ, प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरूको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभास भएको छ’–शाहले उल्लेख गर्नुभएको छ ।

शाहले मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुको विकल्प पनि उल्लेख गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !