१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वर्तमान शासन व्यवस्थाले शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्त रूप दिन सक्नुपर्छ- राष्ट्रपति

प्रकाशित मिति :  ७ फाल्गुन २०७९, आईतवार ०५:४३


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान शासन व्यवस्थाले शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्त रूप दिन सक्नुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको उल्लेख गर्नुभएकाे छ ।

‘आज हामीले हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्त रूप दिन सक्नुपर्दछ, यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्‌भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्दछ’- उहाँकाे सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्ने उल्लेख गर्नुभएकाे छ । नेपालको संविधानप्रति प्रतिबद्ध रहँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा साकार बनाउन प्रजातन्त्र दिवसले सबैमा प्रेरणा देहाेस् भन्ने शुभकामना पनि उहाँले दिनुभएकाे छ ।

राष्ट्रपति भण्डारीले नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका  लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्नुभएकाे छ ।

नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लेख्नुभएकाे छ – ‘००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो, जनताको एकतावद्ध सामर्थ्यले जस्तोसुकै निरंकुशतालाई पराजित गरी मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता बहाल गर्न सक्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदैव स्मरण गराउँछ ।’

प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ साल अघि भएका आन्दोलनहरूको भूमिका अभिन्न रूपले जोडिएको उहाँले स्मरण गर्नुभएकाे छ । ‘वि.सं. १९९७ मा प्रजापरिषदको अगुवाईमा भएको आन्दोलनको क्रममा महान सहिदहरू गंगालाल श्रेष्ठ‚ धर्मभक्त माथेमा‚ शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भयो, उहाँहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ, यसकारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउँछ’-राष्ट्रपतिकाे सन्देशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !