२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रैथाने अन्नबाली लोप हुँदै

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ०७:११


अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै फापर, कोदो, मकै र कागुनो जातका महत्वपूर्ण अन्नबाली लोप हुन थालेको हो । ती अन्न स्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ ।

डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगात जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो समय लोपहँुदै गएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

नयाँ पुस्ताले पुराना महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा रैथाने अन्नबाली लोप हुँदै गएको बताइएको छ । फापर, कोदो र कागुनो उत्पादन हुने जमीनमा अहिले अन्य बाली लगाइएको पाइन्छ ।

पहिले बैतडी जिल्लाले मकैको रोटी र मही (घोगा र छाई) को पहिचान बनाएको थियो । डोटेली राज्यका इतिहासकार भोजराज भट्टराईले परम्परागत खेतीकोे पहिचानसमेत हराउँदै गएको बताउनुभयो ।

एक दशक अघि सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश किसानका बारीमा ७५ प्रतिशत स्थानीय जातको अन्नबाली लगाइन्थे । अहिले १० प्रतिशतसम्म पनि नरहेको अगुवा कृषक पदम बोहराले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र कार्यालयले ग्रामीण क्षेत्र अधिकांश किसानले कोदोखेती लगाउन छोडेकोले विस्थापित हुने अवस्थामा पुगेकोे जनाएको छ । जिल्लामा फापर, कोदा र मुदुरोेको उत्पादन राम्रो मानिन्छ ।

कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरको खेती कम हँुदै गएको छ ।

खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको अमरगढी नगरपालिका–७ डडेल्धराकी इन्दिरा ताम्राकारले बताउनुभयो । अहिले थौरै घरायसी प्रयोजनका लागि मात्र खेती गरेको पाइन्छ । अन्य बालीभन्दा यी बाली स्वास्थ्यका लागि लाभदायक मानिने स्वास्थ्यकर्मीको भनाइ छ ।

फापर, कोदो, कागुनो र मुदुरो परिकारप्रति शहरी क्षेत्रका मानिस आकर्षित भइरहेका छन् । ती बालीका खाद्यान्न बालबालिका, गर्भवती र सुत्केरीलाई लागि निकै फाइदाजनक मानिन्छ ।

स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले ग्रामीण क्षेत्रमा पोषकतत्व पाइने खाद्यान्नको कमी आउन थालेको र स्थानीय पुराना जातको अन्नबाली उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

–रासस



प्रतिक्रिया दिनुहोस !