२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीकाे हत्या गर्ने धम्की दिनेलाई तत्काल पक्राउ गर – एमाले नेताहरु

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार १८:३४


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिने वाग्मती प्रदेशका कांग्रेस सांसद् नराेत्तम वैद्यलाई कारबाही गर्न एमाले नेताहरुले माग गरेका छन् ।

सांसद् नरोत्तम वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेकाे असंवेदनशील अभिव्यक्ति दिनुभएकाे थियाे । उहाँकाे साे अभिव्यक्तिकाे चाैतर्फी विराेध भएकाे छ । उहाँलाई तत्काल कारबाही गर्न माग गरिएकाे छ ।

एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालले नराेत्तमकाे वैद्यकाे अभिव्यक्तिले कांग्रेसले कतै हिंस्रक याेजनाकाे नेतृत्व गर्दैछ भन्ने संकेत हाेकी भन्ने शंका व्यक्त गर्नुभएकाे छ । ‘०४७ पछि कांग्रेसको ‘लोकतन्त्र’ देखेको मात्रै हैन भोगिएकै हो, प्रदेस सभा सदस्य वैद्यको यो भनाई ‘टंग स्लिप’ नभइ कांग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो, नेकां र उ सहितको विपक्षी गठबन्धनले आफ्नो “योजना” थप स्पष्ट पारोस्’- रिमालले फेसबुकमा लेख्नुभएकाे छ ।

पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतले नराेत्तमलाई तत्काल पक्रेर सरकारले कारबाही गर्नुपर्ने बताउनु भएकाे छ । केपी ओलीलाई मार्ने याेजना बनाउनेहरुलाई सचेत रहन पनि महेशले चेतावनी दिनुभएकाे छ । ‘महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम वैद्यले प्रदेश सभामा खुल्लम खुल्ला बोलिरहेका छन्, यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्दछ, अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिराेध गर्न सक्छन्,  त्यस्तो अप्रlय घटना हुनु अगाडि सरकार सचेत हुनुपर्दछ’- महेशले फेसबुकमा लेख्नुभएकाे छ ।

केपी ओलीका हजाराैं समर्थक उहाँका लागि ज्यान दिन तयार रहेकाे उल्लेख गर्दै महेशले लेख्नुभएकाे छ – ‘ केपी ओलीलाई मार्ने योजना बनाइहँदा याद गर, उहाँको लागि मर्न र मार्न तयार भएका हजारौं समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन्, मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’

एमाले नेता याेगेश भट्टराईले वाग्मती प्रदेश सभा सदस्या नराेत्तमले तत्काल माफी माग्नुपर्ने बताउनु भएकाे छ । याेगेशले फेसबुकमा लेख्नुभएकाे छ – ‘प्रदेश सभा सदस्य नरोत्तमजीले दश वटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’

त्यस्तै एमाले गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले पनि वैद्यलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्नुभएकाे छ । प्रधानमन्त्री विरुद्ध अभिव्यक्ति दिने वैद्यलाई सरकारले छिटाे भन्दा छिटाे गिरफ्तार गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने पहारीकाे माग छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि वैद्यको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएकाे छ । वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहने प्रवक्ता शर्माले ट्‍वीटरमा उल्लेख गर्नुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !