२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झगडियाले न्यायाधीश रोज्ने कुरा दुर्भाग्यपूर्ण- प्रदीप ज्ञवाली

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार ०९:२४


काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वपराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले झगडियाले न्यायाधीश रोज्ने कुरा दुर्भाग्यपूण भएको बताउनुभयो ।

राष्ट्रिय युवा परिषदले मंगलबार आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली, युवा सहभागीता र सुशासन विषयक जुम छलफल कार्यक्रममा बोल्दै ज्ञवालीले न्यायालय माथि हुने हस्तक्षेपले देश गम्भीर संकटमा पर्ने बताउनुभयो । ‘अहिले कसलाई फाइदा हुन्छ, त्यो प्रमुख कुरा होइन’, उहाँले भन्नुभयो ।

सामान्य अवस्थामा पनि आउने चैतमा स्थानीय तहको निर्वाचन गर्नै पर्ने उहाँले बताउनुभयो । निर्वाचनमा जतिधेरै मतदाताको सहभागिता भयो त्यतिनै प्रणाली बलियो हुने उहाँले बताउनुभयो ।

धेरै कुराको निर्णय प्रतिनिधि सभा निर्वाचनले गर्ने भएकाले त्यसमा सबैको बढी ध्यान जाने गरेको उहाँले बताउनुभयो । उहाँले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्च डरलाग्दो हुँदै गएको बताउनुभयो । पैसा हुनेले मात्र चुनाव लड्ने जस्तो अवस्था आएको उहाँले बताउनुभयो । ‘यसले व्यवस्थालाई बलियो होइन, कमजोर बनाउँछ’, उहाँले भन्नुभयो ।

चुनावलाई कम खर्चिलो बनाउन राज्यले नै खर्च दिने विधि अपनाउन सकिने उहाँको तर्क छ । निर्वाचनमा पार्टीको हैसियत अनुसार राज्यले नै खर्च दिने र अन्य खर्च पूर्णरुपमा रोक्ने हो भने निर्वाचनमा हुने ठूलो खर्च रोक्न सकिने उहाँले बताउनुभयो ।

यसै गरी निर्वाचनमा प्रचार सामाग्रीको खर्च कटौती गर्न सकिने पनि उहाँको सुझाव छ । ठूला ठूला र्याली रोक्न सक्ने हो भने खर्च कटौती गर्न सकिने उहाँले बताउनुभयो ।

चुनावमा हुने विकृति हटाउन सिस्टममा पनि सुधार गर्नुपर्नेमा उहाँको जोड छ । व्यक्ति कसरी निर्वाचित भएर आयो भन्ने कुरा सुशासनसँग जोडिने उहाँले बताउनुभयो ।

निश्चित स्वार्थसँग जोडिएर निर्वाचित भइआउने जनप्रतिनिधिले सुशासनको लागि काम गर्न नसक्ने उहाँले अनुभव सुनाउनुभयो । ‘सुशासन स्वच्छ निर्वाचनसँग जोडिने विषय हो’, उहाँले भन्नुभयो ।

 



प्रतिक्रिया दिनुहोस !