२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव पक्षधर नेताको बेग्लै बैठक

प्रकाशित मिति :  २४ जेष्ठ २०७८, सोमबार ०९:५६


काठमाडौं । माधवकुमार नेपाल समूहका एमाले पक्षधर नेताहरुले आज बेग्लै बैठक गरेका छन् । नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले बेग्लै बैठक गर्नुभएको हो ।

उहाँहरुले माओवादी परस्त नेताहरुलाई ठिक ठाउँमा ल्याउँदै कसरी एमालेको एकता जोगाउने भन्ने विषयमा छलफल गर्नुभएको बताइएको छ । यो समूहका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गर्नुभएको अपिललाई सकारात्मक भनेका छन् ।

सो समूहको स्थायी समितिको बैठक आज बस्दैछ । एमाले पक्षधर नेताहरुले ओलीको अपिललाई सकारात्मक भनेपछि माओवादी परस्त पक्षले बैठक बोलाएको हो । माधवको समूहमा माओवादी परस्तहरुको बोलवाला रहेको छ । एमाले पक्षधरहरुले गतिविधि बढाउने, बेग्लै बैठक राख्ने गर्न थालेपछि जवाफमा प्रचण्ड पनि सक्रिय हुनुभएको छ । उहाँले माधव नेपालदेखि शेरबहादुर देउवासम्मलाई भेटेर एमाले पक्षधरलाई निस्तेज बनाउने, चुप लगाउने प्रयास गरिरहनुभएको छ ।

माधव समूहभित्रको एमाले पक्षधरहरुले बेग्लै पार्टी खोल्न नहुने, जेठ ३ मा फर्कने केपी ओलीको प्रस्तावलाई उपयोग गरेर अगाडि बढ्नुपर्ने धारणा अगाडि सारेका छन् । आजको बैठकमा सो समूहले यही धारणालाई अगाडि सार्ने भएको छ । तर, यसमा घनश्याम भुषालको केही फरक मत रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !