१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना महामारी,चीन स्थित नेपाली समुदाय को सत्कर्म

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ०४:३७


काठमाडौं । दोस्रो लहरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ संक्रमणका कारण बिरामीको संख्या र मृत्युदरको ग्राफ अस्वाभाविकरूपमा बढिरहेको समयमा अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाहेक अरु मुलुकबाट तत्काल प्राप्त गर्न निकै कठिन थियो ।

महामारी उच्च विन्दुमा रहेका बेला नेपाल सरकार मात्र होइन, चिनियाँ सरकार, हाम्रा विभिन्न तहका कूटनीति, मनकारी चिनियाँ तथा नेपालीको मेहनत र भगीरथ प्रयासमा क्रमशः स्वास्थ्य सामग्री जुटाउने मामिलामा उल्लेख्य सफलता हासिल हुन पुग्यो । बेइजिङस्थित नेपाली राजदूतावास, क्वाङ्चौ (गान्झाउ), ल्हासा र छन्तु महावाणिज्य दूतावासका कूटनीतिज्ञ, त्यहाँस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले कोरोना नियन्त्रण प्रतिकार्यका लागि स्वास्थ्य सामग्री जुटाउन आहोरात्र खटिएका कारण अहिले चीनबाट ठूलो परिमाणमा सहयोग सामग्री प्राप्त गर्न सफलता मिलेको हो ।

कोरोना संक्रमणबाट अप्ठेरोमा परिरहेका नेपालीको हितका खातिर आफ्ना घरपरिवार, निजी दैनिकी काम कारवाही, अन्य चिन्ता र चासोलाई छाडेर स्वास्थ्य सामग्रीको जोहो गरी मातृभूमि पठाउने सन्दर्भमा यसपटक चीनमा रहेका नेपाली समुदायलाई पनि निकै ठूलो दबाब पर्नु स्वाभाविकै हो । कोरोना महामारीले विश्व आक्रान्त भइरहेका बेला चीनमा स्वास्थ्य सामग्री खरिद गर्नै पनि चुनौती रहेको र निर्यातका लागि चीनले लागू गरेको कडा र जटिल मापदण्डका कारण बजारमा पाइएका सामानको उत्पादन चिह्न, नम्बर, कम्पनी र निर्यात स्वीकृतसम्बन्धी कागजात चुस्त दुरुस्त तुल्याउनु निकै कठिन परीक्षा पास गर्नुपरेझैँ थियो ।

दाता जुटाउने, मापदण्ड पुगेका गुणस्तरीय सामान किन्ने, संकलन गर्ने, भण्डारण गर्ने र कसरी सक्दो छिटो नेपाल पुर्‍याउने भन्ने चिन्ताले सबैलाई सताउने गरे पनि प्राणवायु (अक्सिजन) अभावले मृत्युवरणमा पुग्नेको संख्या दिनहुँ बढिरहेको परिस्थिति सुनेपछि सामाजिक उत्तरदायित्वले भारी भएर उनीहरूको मन थामिनसक्नु भइरह्यो । सोही क्रममा नेपाली कूटनीतिज्ञ र समुदायलाई समेटेर ‘चीनबाट स्वयंसेवाको प्रयास’भन्ने अभियानका साथ चीनमा प्रचलित सामाजिक सञ्जाल वीच्याटमा एउटा समूह बनाइयोे ।

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने अभियानमा आर्थिक स्रोतको जोहो, स्वास्थ्य सामग्री खरिद, संकलन, भण्डारण, ढुवानी, गुणस्तरमापन र निर्यातसम्बन्धी विषय समूहमा परिणाममुखी छलफल गर्दै अघि बढ्ने दृढ अठोटसाथ करिब ७० जनाले होस्टेमा हैँसे मिलाए ।

उनीहरुको सामूहिक प्रयासबाट एक हजार चार सय अक्सिजन कन्सन्ट्रेटर र २० हजारभन्दा बढी एन्टिबडी टेस्ट किट संकलन गरी शनिबार क्वाङ्चौबाट नेपाल पठाउने तयारी पूरा गरेपछि मात्र उक्त समूहका सदस्यले आफैँलाई राहत प्राप्त भएको महसुस गरी ठूलो श्वास फेरेका छन् ।

सरकारको समन्वयमा क्वाङचौ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा सबै सामान लोड गरेर काठमाडौं पठाएपछि मात्रै शनिबार यो सबै प्रक्रिया पूरा भएको थियो ।

आकस्मिक स्वास्थ्य सामग्री सकेसम्म छिटो स्वदेश पुर्‍याउन नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्साल, महावाणिज्यदूत हरिशरण पुडासैनी, एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपाने र महासचिव यमबहादुर क्षेत्री दिनरात नभनी खटिनुभएको थियो । त्यसो त कोरोना सङ्क्रमण नियन्त्रण प्रतिकार्य, रोकथाम र उपचारका लागि छिमेकीलगायत विश्वसमुदायबाट खोप, औषधि र स्वास्थ्य सामग्री जुटाउने कार्यमा राष्ट्रपति, सरकारसहित  सिंगाे मुलुक लागिपरिरहेकै छ ।

यसबीचमा सहयोग जुटाउने कार्यमा नेपाललाई ठूलो सहयोग पनि प्राप्त भइरहेको छ । छिमेकी मुलुक भारत र चीनबाट सहयोगस्वरुप ठूलो परिमाणमा खोप प्राप्त भयो भने अमेरिका, अष्ट्रेलिया, स्वीट्जरल्याण्डलगायत मुलुकबाट स्वास्थ्यसम्बन्धी सामग्री प्राप्त भइरहेको छ ।

गैरआवासीय नेपाली संघ चीन, अष्ट्रेलिया र अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट पाँच सय ३३, सांघाइ जेड बौद्ध मन्दिरबाट पाँच सय, शेष घलेको एमआइटी ग्रुप फाउण्डेशनबाट दुई सय २० र सोवर एक्सनहङकङबाट दुई सय गरी एक हजार चार सय ५३ थान अक्सिजन कन्सन्ट्रेटर क्वांचाैमा संकलन गरिएको थियो । नेपालको बीआइए फाउण्डेशन र चीनको वल्र्ड हार्माेनी फाउण्डेशनको समन्वयमा क्वाङतोङ (ग्वाङदोङ) हसिन साइन्टिफिक कम्पनीले उपलब्ध गराएको २० हजार ८० टेस्ट किट पनि त्यहीँ संकलन गरिएको जानकारी दिइएको छ ।

संकलित स्वास्थ्य सामग्री नेपाल पठाउने क्रममा जहाजमा राखेपछि रातभरिको अनिदोले सुस्ताएको आवाजमा एनआरएनए चीनका अध्यक्ष न्यौपाने भन्नुभयो, ‘बल्ल सन्तोषको श्वास फेरेको छु ।’ ग्वान्जाओ विमानस्थलमा राष्ट्रियध्वजावाहक जहाजमा स्वास्थ्य सामग्री राख्ने क्रम चलिरहेका बेला महासचिव क्षेत्रीले  भन्नुभयो, ‘जीवन रहे पो जगत् रहन्छ, राष्ट्रियता र आफ्नोपन रहन्छ ।’

मातृभूमिमा परेको समस्यासँग जुध्न विभिन्न मुलुकमा पसिना बगाइरहेका नेपालीले गरेको प्रयास साकार भएकामा उहाँले आभार पनि व्यक्त गर्नुभयो । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको नेतृत्व र निर्देशन तथा सबैको सामूहिक प्रयासबाट २२ करोड रुपैयाँको सामान पठाउन सफल भएको भनी नियोग उपप्रमुख लम्सालले सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

चीनमा संकलन गरेर नेपाल पठाइएको सामग्री यतिमा मात्रै सीमित नभई चीनमा रहेका समाजसेवी राजनारायण शाहले ४० लाख रुपैयाँमा खरिद गरेको ३७ थान अक्सिजन कन्सन्ट्रेटर स्थलमार्ग हुँदै काठमाडौं आउने क्रममा रहेको बताइएको छ । अर्का मनकारी मोहन डोटेलको समन्वयमा चीनकै यीउका नेपाली समुदाय र चिनियाँ नागरिकबाट संकलित रकमबाट किनिएको १५ थान कन्सन्ट्रेटर र ५० बाकस रेगुलेटर पनि स्थलमार्गबाट काठमाडौं ल्याइँदैछ ।

सोही समूहको प्रयासमा चाइना मिडिया कल्चरल ग्रुपले उपलब्ध गराएको झण्डै ५० लाख रुपैयाँ बराबरको केएन–९५ मास्क नेपाल–चीन सीमा नजिक पुगिसकेको नियोग उपप्रमुख लम्सालले जानकारी दिनुभयो । सांघाइ जेड मोनास्ट्रीले दुई सय कन्सन्ट्रेटरबाहेक उपलब्ध गराएको झण्डै दुई करोड ३० लाख रुपैयाँको पिपिइ, केएन–९५ मास्कलगायतका सामग्री पनि स्थलमार्गबाट नेपालतर्फ प्रस्थान गरिसकेको छ ।

ल्हासा हुँदै तातोपानी नाकासम्मको ढुवानी, भन्सार र निर्यातको प्रक्रियाको समन्वय ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले गरिरहनुभएको छ । चीनस्थित महावाणिज्य दूतावासले यसअघि नै पनि सहयोगस्वरुप प्राप्त सामग्री नेपाल पठाइसकेको छ । चीनले ठूलो परिमाणमा अनुदानमा दिएको अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन रेगुलेटर पाँच सय ६० थान र भेन्टिलेटर १० थान पनि निगमकै जहाजबाट काठमाडौं पठाइएको नेपाली राजदूतावासले जनाएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !