३० बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपभोक्ता सक्रिय भए पनि कञ्चनपुरमा वन डढेलो रोकिएन

प्रकाशित मिति :  १६ बैशाख २०८१, आईतवार १३:५५


कञ्चनपुर । कञ्चनपुुरमा वन डढेलो बढ्दै गएको छ । स्थानीय सामुदायिक वनका उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि सक्रियता बढाए पनि दिनप्रतिदिन डढेलोका घटना बढ्दै गई बहुमूल्य जडीबुटी, काठ-दाउरामा ठूलो नोक्सानी पुगेको छ । डढेलोका कारण वन्यजन्तु र पंक्षीको बासस्थानसमेत नासिँदै जान थालेका छन् ।

शुक्लाफाँटा नगरपालिका– ८ स्थित बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले डढेलो नियन्त्रणका लागि समितिका सदस्यहरूले निकै प्रयास गरे पनि हावा चलेर समस्या हुने गरेको बताउनुभयो । वन क्षेत्रमा डढेलो लागेको खबर पाउने वित्तिकै उपभोक्तासहित नियन्त्रणका लागि खटिन्छौँ । हाम्रै प्रयासले डढेलो नियन्त्रण गर्न नसकिएमा सुरक्षाकर्मी र नगरपालिकाको सहयोग लिने गरेका छौँ तर पनि डढेलोका घटना निरन्तर बढ्दै गएका छन्, महराले भन्नुभयो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी पनि वन क्षेत्रमा दैनिक तीनदेखि सात ठाउँमा डढेलो लाग्ने गरेका बताउनुभयो । उहाँका अनुसार वैशाखयता चार सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भने गत वर्षको यसै अवधिमा छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो ।

यस वर्ष डढेलोबाट सबैभन्दा बढी राष्ट्रिय वन क्षेत्रमा क्षति भएको छ । डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेल चुरे क्षेत्र वरिपरिको वनसँगै लालझाडी मोहना संरक्षित वनको ‘कोर एरिया’ मा वन डढेलोले बढी क्षति पुर्याएको बताउनुभयो । उहाँले सामुदायिक वनमा उपभोक्ता आफैँ सक्रिय भएकाले राष्ट्रिय वनको तुलनामा कम डढेलो लागेका पनि बताउनुभयो ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सुरक्षाकर्मी सक्रिय छन् तर राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रण गर्न कार्यालयसँग जनशक्ति अभाव छ र आवश्यक सामग्री खरिद गर्न नसकिएकाले बढी समस्या भइरहेको छ, कँडेलले भन्नुभयो । प्राकृतिकरूपमा भन्दा नियतबस् र लापरबाहीका कारण वन क्षेत्रमा डढेलो लाग्ने गरेको पाइएकाले डढेलो रोकथामका लागि सचेतना अभिवृद्धिमा जोडदिन आवश्यक रहेको पनि कँडेलको भनाइ छ ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले वन डढेलोका कारण वन सम्पदामा र वन्यजन्तुमा नोक्सानी पुग्नेमात्र नभई वायुप्रदूषण बढ्दै जाँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले सबैले सचेत हुनुपर्ने बताउनुभयो ।

वन क्षेत्रमा लाग्ने डढेलोका कारण वन्यजन्तुहरूमा बस्तीमा प्रवेश गर्ने भएकाले पटकपटक मानव वन्यजन्तुबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेका छन् । त्यसलाई रोक्न स्थानीय सरोकारवाला नै सचेत र जागरूक बन्नुपर्ने स्थानीय महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीको भनाइ छ । उहाँ भन्नुहुन्छ, सानो लापरबाहीले वर्षौदेखि सङ्रक्षण गरेको वन, जैविक विविधता र वन पैदावार डढेलोका कारण नष्ट हुदैँआएको छ । त्यसले मानव वन्यजन्तु द्वन्द्वका घटनासमेत बढ्दै गएका छन् । त्यसैले सचेतनाका लागि अग्निरेखा, सरसफाइका लागि आलोपालो मिलाएर कार्य गरिरहेका छौँ तर पनि डढेलो लाग्नेक्रमलाई रोक्न सकिएको छैन ।

-रासस



प्रतिक्रिया दिनुहोस !