२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नारायणहिटीबाट रंगशाला सम्म बृहत् टुँडिखेल अवधारणा

प्रकाशित मिति :  १६ जेष्ठ २०७८, आईतवार ०३:५३


काठमाडौं । आर्थिक वर्ष २०७८/२०७९ मा शहरी पूर्वाधार विकासका लागि ४१ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा नारायणहिटी संग्रहालय देखि दशरथ रंगशाला सम्मको क्षेत्रलाई अत्याधुनिक सेन्ट्रल पार्कका रूपमा विकास गरिने उल्लेख छ । यसअन्तर्गत भूमिगत पार्किङसहितको खुलामञ्च, रमणीय बगैँचा र प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टुँडिखेल, सुन्धारा, भद्रकाली र दशरथ रङ्गशालालाई समेत समेट्ने गरी आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

गत वैशाख ११ गते धरहरा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यससम्बन्धी गुरुयोजना तयार भएको उल्लेख गर्दै त्यससम्बन्धी वृत्तचित्र पनि सार्वजनिक गर्नुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा सेन्ट्रल पार्कसम्बन्धी गुरुयोजना तयार भएको हो । यो क्षेत्रलाई एकीकृतरूपमा विकास गर्न गुरुयोजना तयार पारिएको प्राधिकरणले जनाएको छ ।

आगामी आर्थिक वर्षमा एक लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने लक्ष्य सरकारले घोषणा गरेको छ । यसका लागि प्रतिपरिवार ७५ हजार अनुदान दिइने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि रु तीन अर्ब ७५ करोड बजेट विनियोजन भएको छ । यो कार्यक्रममा हाल विनियोजित बजेटमा आगामी आर्थिक वर्षका लागि ५० प्रतिशत वृद्धि गरिएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरबाट स्वयम्भूसम्म सांस्कृतिक पदमार्ग निर्माणका लागि बजेट विनियोजन भएको छ ।

नयाँ शहर निर्माणमा सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गरिने भएको यसअन्तर्गत काठमाडौं उपत्यकाका चाँगुनारायण, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायतमा जग्गा एकीकरणमामार्फत काम गरिने भएको छ । नगर विकास कोषलाई नगर वित्त निगममा वृद्धि गरी काम अघि बढाइने भएको छ ।

जग्गा एकीकरणमार्फत बाहिरी चक्रपथ निर्माण आरम्भ गरिने प्रतिबद्धता पनि बजेट वक्तव्यमा जनाइएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !