२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पद र हैसियतको व्यापक दुरुपयोग गर्दै सभामुख अग्नि सापकोटा

प्रकाशित मिति :  १३ जेष्ठ २०७८, बिहीबार १३:५०


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पद र हैसियतको व्यापक दुरुपयोग गर्दै निष्पक्ष भूमिका त्याग्नुभएको छ । उहाँले सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दालाई दुष्प्रभावित गर्ने नियत साथ विभिन्न कार्यक्रम गर्न थाल्नुभएको छ ।

प्रतिनिधि सभा विघटन भए पनि अर्काे चुनाव नभएसम्म सभामुख भने पदमा कायम नै रहने संवैधानिक व्यवस्था छ । यही कारण अग्नि सापकोटा पदीय हैसियतमा हुनुहुन्छ । सो हैसियतको अग्निप्रसादले व्यापक दुरुपयोग गर्नुभएको हो ।

उहाँले केही दिन अघि पूर्व सभामुखहरुको बैठक राखेर प्रतिनिधि सभा विघटन विरुद्ध बोल्ने प्रबन्ध मिलाउनुभएको थियो । उहाँले आज विगतमा अधिवक्ता रहेका राष्ट्रिय सभाका सदस्यहरुलाई उपस्थित गराएर बैठक गराउनुभएको हो ।

सभामुख सापकोटाले स्पष्ट रुपमा विघटन विरुद्धको पक्ष लिनुभएको छ । सभामुख जस्तो निष्पक्ष पदमा बसेका व्यक्तिले संसद् बैठक चलाए जसरी एउटा पक्षको कुरा मात्र आउने गरी कार्यक्रम चलाउनुलाई अस्वभाविक मानिएको छ ।

सभामुखले निजी रुपमा गर्नुभएको सो कार्यक्रममा संसद्को महासचिव र प्रवक्तालाई समेत उपस्थित गराइएको छ । त्यसैगरी कार्यक्रम गर्न संघीय संसद्को हल प्रयोग गरिएको छ भने माइक लगायतका विभिन्न साधन स्रोतको पनि दुरुपयोग गरिएको छ । कार्यक्रममा दर्जनौं कर्मचारीलाई परिचालित गरिएको छ ।

सभामुखले प्रतिनिधि सभा जिवित रहेको अवस्थामा विभिन्न किसिमको बैठक गर्न सक्ने व्यवस्था छ । तर, विघटन भइसकेको अवस्थामा सभामुखको भूमिका निष्क्रिय हुनुपर्नेमा सापकोटाले सक्रिय भूमिका देखाउन थाल्नुभएको हो । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा संसद् सचिवालयको कर्मचारी संयन्त्रमा पनि उहाँले व्यापक हस्तक्षेप गरिरहनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा सर्वाेच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी विचार राख्न पाइँदैन । प्रतिनिधि सभा नचलेको बेला सभामुखको हैसियत प्रयोग गर्न खोज्ने सभामुखले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न नपाइने कानुनी व्यवस्थालाई भने पालना गर्नुभएको छैन ।

सभामुखलाई सक्रिया भूमिका खेल्न, अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी गतिविधि गर्न आजको कार्यक्रममा राष्ट्रिय सभामा कांग्रेसका सांसद् राधेश्याम अधिकारीले प्रष्टसँग आग्रह गर्नुभएको छ । सभामुखले जनमत बनाउने काम गर्नुपर्ने र यस्ता कार्यक्रम अरु पनि गर्नुपर्ने धारणा अधिकारीले राख्नुभएको थियो । जवाफमा सभामुखले आफू अरु बढि सक्रिय हुने, विशेष कदम चाल्ने लगायतका विचार राख्नुभएको थियो ।

संविधानमा सभामुखले तोकिएको बाहेक अन्य कुनै पनि कदम चाल्न पाउने व्यवस्था गरिएको छैन ।

‘कार्यक्रम गरे वापत सभामुखले संसद् सचिवालयलाई कुनै पनि शुल्क तिर्नुभएको छैन’– संसद् सचिवालयका एक अधिकारीले  जानकारी दिए ।

सभामुख पदमा रहेका व्यक्तिले विगतमा यो हदसम्म पदको दुरुपयोग गरेको इतिहास देखिँदैन । प्रतिनिधि सभा नियमावलीले नचिन्ने र नजान्ने ढंगको बैठक तथा कामकारवाही गर्नुलाई सभामुखले पदको डरलाग्दो स्तरमा दुरुपयोग गरेको मानिएको छ ।



प्रतिक्रिया दिनुहोस !