२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तराईमा उपेन्द्र–बाबुराम, देउवा, प्रचण्डकाे पुत्ला प्रदर्शन

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ११:४२


काठमाडौं । ‘तराईको खुसी देख्न नसक्नेहरु विरुद्ध’ भन्दै तराईका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ ।

तराईका विभिन्न ठाउँमा नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु विरुद्ध प्रदर्शन भएको हो ।

सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै ती नेताहरु विरुद्ध प्रदर्शन गरिएको बताइएको छ ।

आज धनुषाको जनकपुर धाममा ती नेता तथा उनीहरु सम्वद्ध पार्टीले तराईको खुसी देख्न नसकेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको विरोध प्रदर्शनमा नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघले अगुवाई गरेको छ । प्रदर्शनमा नेताहरुको पुत्ला प्रदर्शन गरिएको थियो ।

राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ता सुजित यादवका अनुसार तराईको समस्या हल गर्ने गरी आएको नागरिकता अध्यादेशबाट स्थानीयवासीमा उल्लास छाएको छ । स्थानीयको उल्लासमा ग्रहण लाग्ने गरी उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड, माधवहरुले विरोध गरेकाले उनीहरु विरुद्ध प्रदर्शन गरिएको हो ।

तराईका विभिन्न जिल्लामा दीप प्रज्वलन गरी नागरिकता विधेयकको स्वागत गरिएको छ । उता, जनता समाजवादी पार्टीको उपेन्द्र गुट, नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपालको गुटले भने अध्यादेशको विरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !