३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परोपकार प्रसूति गृहमा संक्रमण भएका ३५ महिलाले दिए सन्तानलाई जन्म

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार ०८:१३


काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमण भएका ३५ महिलाले सन्तानलाई जन्म दिएका छन्  ।

दोस्रो लहर सुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ । वैशाखमा आठ र जेठमा सात गरी १५ को ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको छ । बाहिरबाटै कोभिड भएर आएका वा अस्पताल आएपछि पत्ता लागेका महिलालाई अरुबाट छुट्टै राखेर प्रसूति सेवा दिइएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कोभिड भएका महिलालाई सेवा दिनेसँगै उनीहरुबाट अरुलाई सर्न नदिन व्यवस्था मिलाइएको छ ।’

अस्पतालले चार आइसियूसहित ८४ शय्या कोभिड लागेर आउने गर्भवतीका लागि छुट्टाएको छ । अस्पताल आउँदा नै लक्षण देखिएका र शंका लागेका बिरामीलाई अरुबाट छुट्टाइने गरिएको उपनिर्देशक अधिकारीले बताउनुभयो । उनीहरु अरुबाट छुट्टाएर राखेर पिसिआर परीक्षण गरेर पोजेटिभ आएमा ‘आइसोलेसन’ शय्यामा राखिन्छ । उहाँले भन्नुभयो, ‘कसैलाई शुरुमा नदेखिएकालाई अस्पतालमा भर्ना गरिएपछि संक्रमण भएमा पनि पछि आइसोलेनमा राखिन्छ ।’

अस्पतालले थापाथलीस्थित भवन र कुपण्डोलस्थित भवनमा कोभिडका लागि शय्याको व्यवस्था गरेको छ । थापाथलीमा संक्रमित महिलाका लागि पाँच अक्सिजनसहितका शय्या गरी ३० शय्या छुट्टाइएको छ । त्यस्तै कुपण्डोलमा अक्सिजनसहित ५० शय्या (हाइ डिपेन्डेन्सी युनिट) रहेको छ । सो भवनमा आवश्यक चिकित्सकसहित टोलीको व्यवस्था छ । उपचारमा रहेका कुनै पनि बिरामीका लागि चार आइसियू कोभिडलाई छुट्टाइएको छ । संक्रमित गर्भवती महिलालाई प्रसूति सेवाका लागि छुट्टै कोठाको व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, ‘शल्यक्रियाका लागि पनि एउटा भिन्दै कोठा छ ।’

थापाथलीमा सुत्केरी र गर्भवती मात्रै राखिने गरिएको अस्पतालले जनाएको छ । कुपण्डोलस्थित ५० शय्यामा भने गर्भवतीसँगै अरु महिलालाई पनि राख्ने गरिएको अस्पतालले जनाएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत अरु अस्पतालले त्यहाँ शय्या खाली नहुँदा महिलालाई पठाउने गरेको छ ।

अस्पतालमा कुपण्डोलमा १२ र १५ थापाथलीमा गरी अहिले २७ महिला सङ्क्रमित छन् । कोभिड र अरु बिरामीलाई अस्पताल प्रवेश गर्नासाथ ट्रायलबाट छुट्टाउने व्यवस्था मिलाइएको उपनिर्देशक अधिकारीले बताउनुभयो । शंका लागेका महिलालाई पिसिआर गरेर पोजिटिभ हुँदा आइसोलेसन र नभएमा सामान्य वार्डमा राखिने उहाँले जानकारी दिनुभयो । कुनै पनि महिला उपचारका लागि अस्पताल प्रवेश गरेपछि उनका परिवारको वा सम्पर्कका व्यक्तिलाई संक्रमण त्यसका आधारमा आवश्यक पर्ने व्यक्तिलाई पिसिआर गरिन्छ ।

पहिले लक्षण नदेखिएका महिलालाई पछि अस्पतालमा रहँदा ज्वरोलगायत कुनै किसिमको स्वास्थ्य समस्या देखिएमा पिसिआर गरेर कोभिड वार्डमा सारिने गरिएको छ । उहाँले भन्नुभयो, ‘सकेसम्म कोभिडका बिरामीलाई नन कोभिडसँग नजिक गराइँदैन ।’

सबै बिरामी र कुरुवालाई माक्स, भाइजर र दूरी कायम गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । एक तिहाइ कर्मचारी संक्रमित भए पनि सेवामा समस्या नपर्ने गरी व्यवस्था मिलाइएको छ । पहिलो कोभिडमा जसरी अहिले धेरै स्वास्थकर्मीलगायतका कर्मचारी संक्रमित छैनन् । स्वास्थ्यकर्मीलगायत कर्मचारी खोपका कारण र अघिल्लो वर्ष काम गरेकाले बढी सजग हुँदा अहिले संक्रमण कम संख्यामा देखिएको हो । स्वास्थ्यकर्मीले आआफ्नो घरघरमा आफन्त बिरामी भएको देखेकाले पनि सहयोग गर्नुपर्छ भन्ने भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले गर्दा पनि अहिले काम गर्न सजिलो भएको छ ।’

अस्पतालमा केही समय पहिलेसम्म अक्सिजनको समस्या भए पनि अहिले समाधान हुन थालेको अस्पतालका उपनिर्देशक अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले बिस्तारै आवश्यकताअनुसार सिलिण्डर आउन थालेकाले समस्या समाधान भएको छ । अस्पतालमा अहिले एन–९५ माक्स अभाव हुनथालेको छ । उहाँले भन्नुभयो, ‘हामीले विभिन्न संस्थासँग पहल गरिरहेका छौँ ।’

बहिरंग सेवासमेत निरन्तर गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा बहिरंग सेवा अवरुद्ध गर्दा आकस्मिक सेवामा बढी चाप हुने भएकाले बहिरंग सेवालाई नियमित गरिएको हो ।

गर्भवती अवस्थामा वा सुत्केरीमा कुनै पनि महिलाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले त्यही समयमा कोभिड हुँदा जोखिम बढ्ने उपनिर्देशक अधिकारीले बताउनुभयो । अनुसन्धानले पनि यो अवस्थामा जोखिम भएकाले अझै बढी ध्यान दिनुपर्ने पाइएको उहाँले बताउनुभयो । अरु संक्रमितजस्तै गर्भवतीमा सङ्क्रमण भएमा निमोनिया, सास फेर्न कठिनलगायतका समस्या हुन्छ । आमा कोभिड भएपनि जन्मने बच्चालाई कोभिड हुने सम्भावना कम देखिएको छ । उहाँले भन्नुभयो, ‘आमा आफैँले बच्चालाई समाउँदा ख्याल गरेन भने मात्रै सर्नसक्छ ।’

–रासस



प्रतिक्रिया दिनुहोस !