१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनाकोठी र बागडोल आइसोलेशन सेन्टरलाई सहयोग

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:२५


काठमाडौं । कोभिड कहरले आक्रान्त स्थानीय समुदायलाई सहयोग गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले निर्माण गरेको आइसोलशन सेन्टरमा लायन्स क्लब अफ हिमालयाज र पाटनले सहयोग गरेका छन् ।

महानगरपालिकाको बागडोलस्थित ज्यापु भवनमा स्थापित  एक सय १० शय्या र सुनाकोठीमा रहेको ६० शय्याको सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

लायन्स क्लबका अध्यक्ष प्रदीप अमात्यले महानगरका नगर प्रमुख चिरीबाबु महर्जनलाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै क्लबले कोभिड –१९ को महामारीमा स्थानीय सरकारसँग सहकार्य गरेको जानकारी गराउनुभयो ।

लायन्स क्लब अफ पाटन ऊर्जाले पनि सुनाकोठीस्थित ६० शय्याको आइसोलेशन सेन्टरका लागि स्वास्थ्य सामग्री महानगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको थियो । क्लबका तर्फबाट  लायन मणिरत्न शाक्यले ५० हजार रुपैंयाको सामान उपलब्ध गराएको लायन संजयनाथ जोशीले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख महर्जनले  महानगरपालिकामा पृथक् अवधारणासहित संचालनमा ल्याइएको आइसोलेशन सेन्टरमा प्राप्त सहयोगले स्थानीय सरकारलाई प्रेरणा मिलेको बताउनुभयो ।

महानगरपालिकाले सुनाकोठीस्थित पोषण केन्द्रमा संचालन गरेको ६० शय्याको आइसोलेशन सेन्टरमा ४४ र ज्यापु भवनमा एक सय १० शय्याको आइसोलेशन सेन्टरमा ३४ जना उपचाररत छन् ।

– रासस



प्रतिक्रिया दिनुहोस !