१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नागढंगामा स्वास्थ्य जाँच केन्द्र स्थापना

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार ०६:१९


काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको नागढुंगामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाडाैं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुंगामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो ।

उक्त केन्द्रको बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्तरूपमा शुरुआत गर्नुभयो । नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुँदै काठमाडौं उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा  कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह, नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरि–२ का वडाध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति थियो ।

हालसम्म चन्द्रागिरिमा दुई हजार तीन सय ७९ जनालाई कोरोना संक्रमण देखिएको नगरपालिकाका प्रवक्ता महर्जनले जानकारी दिनुभयो ।  तीमध्ये दुई हजार एक सय ८१ निको भएर घर फर्किसकेका छन् भने एक सय ५८ होम आइसोलेशन र १४ जना अस्पतालमा उपचारत छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण २६ जनाले ज्यान गुमाइसकेका छन् ।

सबै वडामा अत्यावश्यकबाहेक सबै सेवा बन्द 

नगरपालिकाले नगरपालिकामा निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख गिरीले बुधबार एक विज्ञप्ति जारी गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने जानकारी दिनुभएको हो ।

चन्द्रागिरिले निषेधाज्ञा अवधिभर सर्वसाधारण सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !