१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वित्तीय क्षेत्रमा ठूलो हलचल, चार बैंकको पाँच अर्ब रुपैयाँ जोखिममा

प्रकाशित मिति :  १५ कार्तिक २०७९, मंगलवार ०४:४३


काठमाडौं । एउटा जग्गा कीर्ते काण्डको खुलासा भएपछि देशका प्रमुख चार बैंक ठूलो समस्यामा फसेका छन् । यी चार बैंकको करिब ४ अर्ब रुपैयाँ ऋण लगानी भएको झापाको जग्गा कीर्ते भएको खुलेको हो ।

एनसीसी बैंक, प्रभु बैंक, नबिल बैंक र ग्लोबल आईएमई बंैकले ऋण लगानीको गरेको जग्गा कीर्ते भएको खुलासा भएको हो ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार कीर्ते भएको जग्गामा बैंकहरुले करिब पाँच अर्ब रुपैयाँ लगानी गरेका थिए । नबिल र ग्लोबल आईएमई दुई बैंकको सो जग्गामा करिब २ अर्ब रुपैयाँ लगानी भएको छ । त्यसैगरी एनसीसी र प्रभु बैंकको करिब ३ अर्ब रुपैयाँ लगानी भएको छ ।

एमाले नेता तथा अस्पताल व्यवसायी दुर्गा प्रसाईंले मेडिकल कलेज र अस्पताल खोल्ना झापाको धाइजन स्थित जग्गा बैंकहरुमा धितो राखेर केही वर्ष पहिले ऋण लिएका थिए । सो जग्गा कीर्ते भएको ठहरिएपछि बैंकहरु समस्यामा फसेका हुन् ।

ठूलो लगानी जोखिममा परेपछि चारवटै बैंकले शेयरधनीहरुलाई लाभांश दिन ढिलाई गरिरहेको बुझिएको छ । खासगरी नबिल र प्रभु बैंकले राम्रो लाभांश दिने अपेक्षा गरिएको थियो । तर, ठूलो रकम नन पर्फमिङ लोनमा देखाउनुपर्ने भएपछि उनीहरुले दिने लाभांश पनि प्रभावित हुन लागेको हो ।

नबिल र प्रभु बैंकले तिहार लगत्तै सञ्चालक समितिको बैठक राखेर लाभांश घोषणा गर्ने तयारी गरेको थियो । तर, ठूलो रकम जोखिममा परेपछि लाभांश घोषणा तत्काल नगरिने भएको छ ।

चारवटा बैंकहरुको पाँच अर्ब रुपैयाँ जोखिममा परेपछि नेपालको वित्तिय क्षेत्रमा ठूलो हचलल भएको छ । नेपाल राष्ट्र बैंकले सो कीर्ते जग्गामा गरिएको लगानीको फायल अनुसन्धान थालेको छ । स्रोत अनुसार दुवै बैंकले सो ऋण लगानी सम्बन्धमा आन्तरिक अनुसन्धान थालेका छन् । नबिल बैंकले झापामा एउटा अनुसन्धान टोली नै पठाएको बुझिएको छ ।

यसरी भयो कीर्ते

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको धाइजन स्थित जग्गा धितोमा राखेर केही वर्ष अघि ऋण लिएका थिए । सो जग्गाको क्षेत्रफल १० बिगाहा १२ कठ्ठा १३ धुर भनेर बैंकहरुले ऋण दिएका थिए । तर, प्रसाईंले बैंकहरुलाई उपलब्ध गराएको धनीपूर्जा नै कीर्ते भएको तथ्य खुलेको हो ।

धाइजनको कित्ता नम्बर ७०६ को सो जग्गा ५ बिगाहा, ८ कठ्ठा १३ धुर मात्र रहेको छ । मालपोत कार्यालय र नापी कार्यालय झापाका अनुसार प्रसाईंले बैंकहरुलाई देखाएको धनीपूर्जामा ५ बिगाहालाई १० बिगाहा र ८ कठ्ठालाई १२ कठ्ठा बनाइएको छ । पाँच बिगाहा जग्गाको धनीपूर्जालाई कम्प्युटर प्रविधि प्रयोग गरेर १० बिगाहा बनाइएको बुझिन्छ ।

प्रसाईंले सोही जग्गाको धनीपूर्जा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा विभिन्न सरकारी कार्यालय तथा निकायहरुमा पेस गरेर मेडिकल कलेज तथा अस्पतालको लाइसेन्स हात पारेका थिए ।

धितो लिइएको जग्गा आधा मात्र भएको जानकारी पाएपछि बैंकहरु ठूलो समस्यामा परेका हुन् । चर्काे तरलता अभाव झेलिरहेका बैंकहरु यो काण्ड खुलेपछि झन् समस्यामा परेका छन् । एक बैंकरका अनुसार यो कीर्ते काण्डपछि पीडित बनेका बैंकहरुलाई मात्र नभएर समग्र बैंकिङ क्षेत्र नै प्रभावित हुने जोखिम बढेको छ ।

मिलेमतोको आशंका

आधा क्षेत्रफल भएको जग्गामा कसरी धितो लगानी गरियो भनी राष्ट्र बैंकले पनि अनुसन्धान थालेको छ । स्रोत अनुसार नबिल बैंकले सो पीडा नेपाल बङगलादेश बैंकका कारण भोग्नुपरेको हो । बङगलादेश बैंकलाई आफूले गाभेपछि नबिलको थाप्लोमा सो ऋण र कीर्ते काण्ड आइलागेको हो । त्यसैगरी ग्लोबल आईएमई बैंकले पनि आफैं ऋण दिएको होइन, जनता बैंकलाई आफूमा गाभेपछि ग्लोबलले खराब कर्जा थाप्लोमा बोक्नुपरेको हो ।

बैंकरहरुका अनुसार मालपोतका कर्मचारीको मिलेमतो बिना आधा क्षेत्रफलको जग्गालाई दोब्बर बनाएर कर्जा प्रवाह गर्न सकिँदैन । यसका लागि झापा मालपोतका तत्कालीन कर्मचारीहरुको मिलेमतो भएको आशंकामा मालपोत विभागले पनि छानविन थालेको छ ।

‘मिडियामा आएका समाचारहरुबाट हाम्रो ध्यानाकर्षण भएको छ तर हामीलाई अहिलेसम्म उजुरी आएको छैन’, नेपाल प्रहरीको सिआईबीका एक अधिकारीले बताए । सिआईबीले वित्तीय अपराधको पनि छानविन गर्ने गरेको छ । केही महिना अघि पक्राउ परेका इच्छाराज तामाङले गरेको वित्तीय अपराधको पनि सिआईबीले नै छानविन गरेको थियो ।

नेपालको वित्तीय क्षेत्रमा नै हलचल हुने देखिएपछि नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा छलफल गर्न चारवटै बैंकका अधिकारीहरुलाई छलफलका लागि आज बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !