१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफ्नो जग्गा धितोमा राखिएको छ भन्ने योगेश्वरलाई कसरी थाहा भयो ? योगेश्वर नै शंकाको घेरामा

प्रकाशित मिति :  २९ कार्तिक २०७८, सोमबार ०१:३२


काठमाडौं । ‘यो जग्गा बिक्रीमा छैन’– बाराको विश्रामपुर स्थित सडक छेउको ठूलो जग्गामा यस्तो बोर्ड टाँगिएको थियो । बारा जिल्लामा जग्गा अरुका पनि छन्, ठूलाठूला क्षेत्रफलका जग्गा कति छन् कति, तर, त्यही जग्गामा त्यस्तो सूचना किन टाँसियो ? बोर्ड देखेर स्थानीयवासी अचम्म मान्थे ।

अहिले सिआईबीले समेत त्यो बोर्डलाई ध्यानमा राखेर अनुसन्धान थालेको छ । त्यो जग्गा हो गायक योगेश्वर अमात्यको । अमात्य दम्पत्तीको नाममा रहेको बिरुवाभूमि बनकाली कम्पनीको स्वामित्वमा सो जग्गा रहेको छ । कम्पनीको नाममा १२ बिगाहा जग्गा कसरी आयो ? सिआईबीले अनुसन्धान थालेको छ । सिआईबीका एक प्रहरी अधिकृतले अनौपचारिक जानकारी दिए अनुसार बिरुवा बनकालीका नाममा त्योभन्दा धेरै जग्गा थियो ।

बेचेर बाँकी रहेको १२ बिगाहा हो । त्यही जग्गा कीर्ते गरेर बैंकमा राखिएको प्रकरण अहिले सतहमा आएको हो । यो जग्गा अहिले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा चर्चा र विवादको विषय बनेको छ । कारण हो– सो जग्गा कीर्ते गरेर एक बैंकमा राखेर १९ करोड रुपैयाँ निकालियो ।

कीर्तेको गहिराई

जग्गा राखिएको थियो कुमारी बैंकमा । डेनियल ट्रेडिङ कम्पनीले सो जग्गा बिरुवा भूमिबाट प्राप्त गरेको कागजात कुमारी बैंकमा पेस गर्यो । १९ करोड रुपैयाँ ऋण लियो । बैंकले अरुबेला तथा अरु ऋणमा जस्तै गरेर ऋण दिएको थियो । तर, योगेश्वरको जग्गा भने कीर्ते गरेर धितो राखिएको थाहा भयो ।

गिरोहले बैंकको बारा शाखाका कर्मचारीलाई प्रयोग गरेर जग्गा रोक्काको नक्कली कागज बैंकमा पुराएका थिए । योगेश्वर दम्पत्तीको कम्पनीको नाममा रहेको जग्गा बैंकले रोक्का गर्न सक्दैनथ्यो । यो प्रकरणको जानकारी दिन आफू नै बैंकमा गएको योगेश्गरले विभिन्न मिडियालाई जानकारी दिनुभएको छ ।
त्यसपछि बैंकले जग्गा धितो राख्ने ऋणीहरुलाई सम्पर्क गर्यो । ऋण तिर्न भन्यो । बैंकले थप धितो माग्यो । ऋणीहरुले थप धितो पनि राखे, ऋण पनि तिरे । अर्थात्, बैंकले आफ्नो कर्तव्य निर्वाह गर्यो ।

सो जग्गा एसके महर्जनको नाममा रहेको कागजात कुमारी बैंकमा पेस गरिएको थियो । एसके र उनको समूहले डेनियल नामको कम्पनीका नाममा ऋण लिएका थिए ।

मालपोत कार्यालयमा भने सो जग्गा अमात्य दम्पत्तीको कम्पनीकै नाममा थियो । यो प्रकरण खुलेपछि प्रहरीले महर्जन सहित मुक्तिलाल गौतम, सोनु ठाकुर, राजेश चौरसियालाई पक्राउ गरेको छ ।

शंकै शंका

यो जग्गा प्रकरणमा बैंकलाई ठग्न खोजिएको देखिएको छ । ठग्न खोज्ने गिरोहको साँठगाँठ कस्तो थियो भन्ने अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ ।

सिआईबीका एक अधिकारीका अनुसार योगेश्वर अमात्यको सो जग्गा पहिले पनि विवादमा पर्ने गरेको थियो । ‘उहाँकै त्यो जग्गा किन विवादमा पर्छ भन्ने कोणबाट पनि हामी अनुसन्धान गर्दैछौं ।’ ती अधिकारीका अनुसार यो प्रकरणमा योगेश्वरको संलग्नता भए नभएको प्रष्ट भइसकेको छैन ।

‘हामी सबैलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्छाैं’– सिआईबी अधिकारीको भनाई छ– ‘गायक योगेश्वर अमात्यको मिलेमतोमै कुमारी बैंकलाई ठग्न खोजिएको हो कि होइन भन्ने हामी अनुसन्धान गर्दैंछौं । अहिले नै केही भन्न सकिन्न ।’

बैंक चुक्यो

यो प्रकरणमा बैंक नराम्रोसँग चुकेको छ । बैंकले नक्कली जग्गा धितो राखेको प्रष्ट भइसकेको छ । तर, यसले कुमारी बैंक मात्र नभएर नेपालका सबै बैंकहरुले जग्गा धितो लिएर ऋण दिने प्रणालीमै त्रुटी रहेको प्रष्टिएको छ ।

‘यो कुमारी बैंकको मात्र कुरा होइन, कुमारीले सबै प्रकृया पूरा गरेर ऋण दिएको देखिन्छ । बैंकको नियतमा प्रश्न उठाउने ठाउँ देखिँदैन । कुमारी बैंक र अन्य बैंकले जग्गा धितोमा ऋण दिने प्रकृया एउटै हो । त्यो प्रकृयामा अब राष्ट्र बैंकले पुर्नविचार गर्नुपर्छ’– चार्टर्ड एकाउन्टेट डीपी दाहालको भनाई छ ।

सबिनका अनुसार यो प्रकरणमा बैंकका सिईओलाई तान्ने ठाउँ छैन । उहाँका अनुसार यस्ता प्रकरणमा बैंकका सिईओलाई तान्ने र कारवाही गर्ने हो भने नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थाका प्रमुखले काम गर्न नसक्ने अवस्था आउँछ । उहाँको भनाई छ– ‘कर्मचारीले गल्ती गर्दा मन्त्रीलाई सजाय गर्ने, प्रहरी जवानले गल्ती गर्दा आईजीलाई सजाय गर्ने, राष्ट्र बैंकका अधिकृतले गल्ती गर्दा गभर्नरलाई सजाय गर्ने हो भने कसैले पनि काम गर्न नसक्ने अवस्था आउँछ ।’

प्रकरण रहस्यमय छ

गायक अमात्यले आफ्नो जग्गा बिक्रीमा छैन भनेर लेखेर टाँग्नु, आफ्नो जग्गा कुमारी बैंकमा धितो राखिएको छ भनेर थाहा पाउनु, आफैं उजुरी हाल्न जानुले अनेक प्रश्न उठेको छ ।

आफ्नो जग्गा धितोमा राखिएको छ भन्ने योगेश्वरलाई कसरी थाहा भयो ? यो प्रश्न महत्वपूर्ण देखिएको छ । बैंकले आफ्नो रकम डुब्न लागेको थाहा पाएपछि हतारहतार ऋणको रेस्क्यू गरेको थियो । कुमारी बैंकका एक अधिकारीका अनुसार बैंक आफैं प्रहरीमा जाने तयारीमा थियो ।

सिआईबीका अनुसार बैंकले ऋण असुली गरिसकेपछि मात्र योगेश्वरले प्रहरीमा उजुरी गर्नुभएको हो । एक प्रहरी अधिकारीका अनुसार ऋण लिएर बैंकलाई फसाउने गिरोह र योगेश्वरको मिलेमतोमा सबै काम गरिएको छ र पछि कुरा नमिलेपछि उजुरी दिएको हुनसक्ने कोणबाट पनि छानविन भइरहेको छ । सिआईबी स्रोतका अनुसार यो प्रकरणमा योगेश्वरसँग पनि विस्तृत सोधपुछ गरिने भएको छ ।

‘योगेश्वरसँग हामीले पटक-पटक छलफल गरेका छौं । उहाँले आएर औपचारिक वयान दिन तयार छु भन्नुभएको छ, हामी चाँडै बोलाउँदैछौं’– ती प्रहरी अधिकृतको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !