६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज आमाको मुख हेर्ने दिन, आमाप्रति सम्मान भाव व्यक्त गरी मनाइँदै

प्रकाशित मिति :  २६ बैशाख २०८१, बुधबार १०:०६


काठमाडाैं । आज वैशाखकृष्ण पक्ष औंशी अर्थात आमाकाे मुख हेर्न पर्व मनाइँदैछ ।

हरेक वर्ष वैशाखकृष्ण पक्ष औंशीका दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आमाकाे मुख हेर्ने पर्व मनाइन्छ । जन्मदाता आमालाई सम्मान गरी मनाइने याे पर्व देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गरिन्छ ।

अधिकांश युवायुवतीहरू आज ‘ह्याप्पी मदर्स डेु भन्दै सामाजिक सञ्जालमा आमाको तस्बिर पोस्ट गरिरहेका छन् । यद्यपि आज ‘मदर्स डे’ होइन, मातातीर्थ औंशी हो । आमाको मुख हेर्ने दिन हो । विश्वले आमा दिवस मनाउनु ८ दिन अघि नै नेपालीले मातातीर्थ औंशी मनाउने गरेका छन् । मातातीर्थ औंशी नै नेपालीको मौलिक आमा दिवस हाे ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उहाँले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ उल्लेख छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए।

मातातिर्थ औंशीकाे अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । काेभिडका कारण गत २ वर्ष प्रभावित भएकाे मेला यसपटक भने लागेकाे नगरपालिकाले जनाएकाे छ । बिहानैदेखि त्यहाँ घुइचाे लागेकाे छ ।

सनराइज खबर, मातातीर्थ ‌औंशीकाे अवसरमा हरेक नेपाली आमाकाे मुहारमा खुसी छाओस्, यही शुभकामना व्यक्त गर्दछ ।



प्रतिक्रिया दिनुहोस !