५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रम उच्च प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  २३ बैशाख २०८१, आईतवार १३:४०


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिकको मौलिक हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ, निकै ठुलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ’, उहाँले भन्नुभयो ।

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २ हजार ८ सय शय्या निःशुल्क उपलब्ध गराइएको उहाँले बताउनुभयो । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार कार्यान्वयनमा ल्याउन पहल गरिएको उहाँले बताउनुभयो । यस्ता कामले स्वास्थ्य क्षेत्रका अधिकार व्यवहारमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्ने उहाँको भनाइ छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने उहाँले बताउनुभयो । आफूले सरकारको नेतृत्व लिए लगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको उहाँको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !