२५ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजका विश्व खबर , जर्मनीको बेइजिङसँग व्यापार गर्ने प्रतिबद्ध

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार १९:५५


काठमाडाैं । जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ जर्मनीका चान्सलर ओलाफ स्कोल्ज आइतबार चीन भ्रमणमा आउनुभएको छ ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार स्कोल्ज आइतबार बिहान मन्त्री तथा व्यापारिक फर्म, कम्पनी र सङ्घसंस्थाका कार्यकारी प्रमुख सम्मिलित ठूलो प्रतिनिधिमण्डलसहित चोङकिङ महानगरमा पुग्नुभएको हो ।

पश्चिमा राष्ट्रहरूले बेइजिङमाथि दबाब बढाइरहेका बेला निर्यातका दृष्टिकोणबाट युरोपको विशाल अर्थतन्त्रले विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट छुट्टिनुपर्ने आह्वानलाई अस्वीकार गर्ने र बेइजिङसँग व्यापार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्ने अपेक्षा गरिएको छ । तर, चीनप्रतिको उहाँको मित्रतापूर्ण पहलले उद्योगहरूका लागि बेइजिङको भारी अनुदानको विरोध गर्दै आएका वासिङ्टन र युरोपेली सङ्घ (ईयू)का साझेदारहरूबीच आक्रोश पैदा गर्ने जोखिम रहेको छ ।

‘चीन जर्मनीका लागि वास्तवमै महत्वपूर्ण आर्थिक साझेदार रहेको छ’, स्कोल्जले शुक्रबार पत्रकारहरूलाई भन्नुभयो, ‘उहाँले चीनमा जर्मन कम्पनीहरूको लागि चीनमा समान व्यवसायिक अवसरको खोजीको प्रयास गर्नुहुनेछ ।’

भूराजनीतिक मोर्चामा, स्कोल्जले आफ्नो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनलाई लगाम लगाउन र युक्रेनमा रूस युद्धको अन्त्य गर्न मद्दत गर्न आफ्नो प्रभाव प्रयोग गर्न पनि दवाव दिने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताउनुभएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी–७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु ।’
नेतन्याहूसँग फोनमा बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।

सोमालियाली समुद्री डाकुहरूले बङ्गलादेशको ध्वजाबाहक मालवाहक पानीजहाज र त्यसका चालक दलका २३ सदस्यलाई आइतबार बिहानै उद्धार गरेको कम्पनीले जनाएको छ ।

एमभी अब्दुल्लाह नामक सामान बोक्ने उक्त पानीजहाजलाई सोमालियाको मापुतोबाट संयुक्त अरब इमिरेट्स (युएई) तर्फ ५५ हजार टनभन्दा बढी कोइला बोकी जाँदै गर्दा दर्जनौं समुद्री डाकूहरूको एक समूहले मार्चमा सोमाली तटबाट करिब एक हजार किलोमिटर टाढाको क्षेत्रबाट कब्जा गरेको थियो ।

यमनको इरान समर्थित हुथी विद्रोहीले पानीजहाजमा गरेको आक्रमणबाट जोगिन अदनको खाडीबाट अन्तर्राष्ट्रिय नौसैनिक बल रेड सीमा परिचालन गरिएसँगै सोमालियाली समुद्री डाकूको गतिविधिमा वृद्धि भइरहेका बेला जहाज नियन्त्रणमा लिइएको थियो ।

जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ ।

प्रहरीका अनुसार गत बर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो बर्षको १५ बाट बढेर १८१ पुगेको छ ।

बाइडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराउनुभएको छ । सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।

हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् ।
ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उहाँले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गर्नुभयो ।

रक्षामन्त्री योआभ ग्यालान्टले भन्नुभयो, ‘संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं । आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ ।’

इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।

यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको छ भने इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !