६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रफाहबारे बाइडेनले नेतान्याहुसँग कुरा गर्नुहुन्छ– ह्वाइट हाउस

प्रकाशित मिति :  २५ बैशाख २०८१, मंगलवार १०:१३


वासिङ्टन । दक्षिणी गाजा सहरमा आक्रमण गर्नुअघि इजराइली सेनाले प्यालेस्टिनीहरूलाई पूर्वी रफाह खाली गर्न आह्वान गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग कुरा गर्नुहुने ह्वाइट हाउसले बताएको छ ।

युद्धविरामका लागि हमाससँगको जारी वार्ता र रफाहमा आश्रय लिएका नागरिकहरूलाई सहयोग गर्ने पूर्ण योजनाबिना त्यहाँ गरिने आक्रमणलाई समर्थन नगर्ने वासिङ्टनको बारम्बारको भनाइका बावजुद इजराइलको उक्त घोषणा आएको छ ।

“हामी आइडिएफ अपरेसनका बारेमा बोल्न सक्तैनौँ, हामीले रफाहमा ठूलो स्थल आक्रमणका बारेमा इजराइली सरकारलाई हाम्रो धारणा स्पष्ट गरेका छौँ र राष्ट्रपतिले आज प्रधानमन्त्रीसँग कुरा गर्नुहुनेछ”, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले भन्नुभयो, “लाखौँ मानिसले आश्रय लिइरहेको रफाहमा हुने आक्रमणबाट बच्न र बन्धकहरूको जीवन जोगाउन बन्धक सम्झौता नै उत्तम तरिका हो भन्ने हामीलाई विश्वास छ, वार्ताहरू अहिले पनि जारी छन् ।”

गाजा र इजराइलबीचको सीमा क्षेत्रमा हमास लडाकूहरूले गरेको रकेट आक्रमणपछि इजराइली सेनाले सोमबार प्यालेस्टिनीहरूलाई पूर्वी रफाह खाली गर्न आह्वान गरेको हो । हमासको आक्रमणमा चार इजराइली सैनिक मारिएका छन् ।

कायरोमा सप्ताहन्तको वार्ताका क्रममा सात महिनाको युद्धलाई समाप्त गर्ने इस्लामिक समूहको मागलाई लिएर इजराइल र हमासबीच तीव्र असहमति बढेपछि रफाह खाली गर्ने आह्वान आएको हो ।

इजिप्टले जस्तै वार्ताको मध्यस्थता गरिरहेका संयुक्त राज्य अमेरिका र कतारबीच सोमबार दोहामा परामर्श हुने अपेक्षा गरिएको थियो तर रकेट आक्रमणपछि वार्ता रोकिएको इजिप्टको राज्यसम्बन्धित सञ्चारमाध्यमले बताएको छ ।
-रासस



प्रतिक्रिया दिनुहोस !